सुदूरपश्चिममा जबरजस्ती करणीका घटनामा वृद्धि , ५ महिनामा १५० घटना   

बिएल संवाददाता

    डडेल्धुरा 

सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणीका घटना बढ्न थालेका छन्। 
पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको बन्दाबन्दीको अवधिमा प्रदेशमा जबरजस्ती करणी र बलात्कारका घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ।
गत चैत महिनायता हालसम्म प्रदेशका नौवटै जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी कुल १५० वटा मुद्दा प्रहरीमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। 
प्रहरीको तथ्याङ्कअनुसार गत चैतमा कैलालीमा छ, कञ्चनपुरमा तीन, बाजुरा र बझाङमा दुई÷दुई बैतडीमा एक गरी जबरजस्ती करणीका १४ वटा मुद्दा दर्ता भएका छन्।
त्यसैगरी गत वैशाखमा कैलालीमा आठ, कञ्चनपुरमा तीन र डोटी, अछाम, बाजुरा र दार्चुलामा एक÷एक जबरजस्ती करणीका घटना प्रहरी कार्यालयमा दर्ता भएको बताइएको छ। गत जेठमा यहाँ जबरजस्ती करणीमा २३ र जबरजस्ती करणी उद्योगमा पाँचवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। गत असारमा भने मुद्दा बढेर जबरजस्ती करणीमा २५ र जबरजस्ती करणी उद्योगमा १२ वटा गरी ३७ वटा मुद्दा यहाँका जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी कैलालीमा दुवै मुद्दा गरी २१ वटा मुद्दा दर्ता भएका छन्। 
गत साउनमा पनि जबरजस्ती करणीसम्बन्धी मुद्दा ३२ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ। साउनमा जबरजस्ती करणीमा २१ र सोसम्बन्धी उद्योगमा ११ वटा मुद्दा दर्ता भएका छन्। भदौमा पनि जबरजस्ती करणीसम्बन्धी १५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बन्दाबन्दीमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटना विगतकै अवस्थामा रहेको छ । “विगतको तथ्याङ्क हेर्ने हो भने पनि केही तलमाथि बाहेक समान नै छ । बन्दाबन्दी भएर यस प्रकारका मुद्दा बढे वा घटे भनिहाल्नुपर्ने अवस्था छैन्”, उनले भने। 
 ती घटनामा संलग्न अभियुक्तहरू कानूनी कारबाहीको दायरामा रहेको सिँहले जानकारी दिए। “अपराधमा संलग्नहरू यी मुद्दामा कोही पनि फरार रहेको अवस्था छैन”, उनेले, “कोरोना कहरको जोखिमका बीच पनि प्रहरी गाउँबस्ती दूरदराजसम्म पुगेर सुरक्षाको आभास दिलाइरहेकै छ।”रासस  
 

प्रकाशित मिति: : 2020-09-18 13:27:18

प्रतिकृया दिनुहोस्