खेलाडी संघ भन्छ, ‘सागका पदक विजेतालाई वेवास्ता गरिनु खेलाडीको अपमान हाे’

देशले संविधान दिवस मनाइरहँदा नेपाली खेलकुदको ६२ वर्ष लामो इतिहासमा खेलाडीले पहिलो पल्ट अपमान महसुस गरेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बताएको छ।

संघका अध्यक्ष दीपक श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गर्दै गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई वेवास्ता गरिनुलाई खेलाडीको अपमान भएको बताएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित घोषणा गर्दा तीन विभाग (सेना, प्रहरी र शसस्त्र) बाट सिफारिस भएका सागका १५ जना स्वर्ण पदक विजेतासहित ओलम्पियन संगिना वैद्य, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका विभागिय प्रमुख कुलबहादुर थापामात्र खेल क्षेत्रबाट विभूषित भएका छन्।

‘अहिले सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवीबाट सम्मान गर्दा खेल क्षेत्रले भने अपमान महसुस गर्नुपर्ने दुःखद अवस्था सृजना भएको छ,’ खेलकुद क्षेत्रबाटसहित मानपदवी पाउने सबैलाई बधाई दिँदै श्रेष्ठले भनेका छन्।

गत वर्ष मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको १३ औं सागमा खेलाडीले गरेको उच्च प्रदर्शनबाट नेपालले साग इतिहासमै अहिलेसम्मकै ठूलो सफलता प्राप्त गरेको थियो। 

नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक सहित साग इतिहासमा सर्वाधिक पदक जितेको थियो। 

त्यसबेला सरकारसहित देशवासीले सफलताका लागि खेलाडी, प्रशिक्षकसहित सम्बन्धित सबैलाई बधाई दिएको सम्झदै उनले भनेका छन्,‘त्यो सफलताका लागि खेलाडी सम्मानको हकदार थिए। खेलाडीले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए। त्यो सम्बन्धित निकायले ध्यान दिनुपर्ने विषय थियो।’

युवा तथा खेलकुद मन्त्रालयको निर्देशन भन्दै राखेपले १३ औं सागका स्वर्ण पदक विजेता यहि मानपदवीका लागि भन्दै फारम भर्न लगाइएको थियो। तर,  मानपदवीको सुचीमा समावेश नहुनु अत्यन्तै दुःखद पक्ष भएको संघका अध्यक्ष श्रेष्ठले बताएका छन्। 

‘स्वर्ण पदक विजेता खेलाडीले फारम भरेर राखेपलाई बुझाएपनि आज सुची सर्वाजनिक हुँदा विभागले सिफारिस गरेका बाहेक कुनै पनि खेलाडी त्यसमा मानपदवीको सुचीमा समावेश नहुनु अत्यन्तै दुःखद पक्ष हो। यसले खेलाडी र खेल क्षेत्रलाई हेर्ने सरकारको दृष्टीकोण फेरि एक पटक उजागर भएको छ,’ उनले विज्ञप्तीमा भनेका छन्। 

सम्मान दिन सकिन्न भने खेलाडीलाई अपमान गर्ने अधिकार पनि कसैलाई नरहेने उनले बताएका छन्।

‘यसलाई खेलाडी संघले गम्भिरतापूर्वक लिएको यहाँ उल्लेख गर्न चाहन्छौं। आजको दिन खेल क्षेत्रले अपमान महसुस गरेको छ,’ अध्यक्ष 
श्रेष्ठले भनेका छन्।  

प्रकाशित मिति: : 2020-09-19 18:51:11

प्रतिकृया दिनुहोस्