अमेरिकी राष्ट्रपति चुनावको मूल मुद्दा बन्दै काेराेना भ्याक्सिन

संजोग आचार्य

न्युयोर्क

अमेरिकामा कोरोना भाइरसलाई लिएर फेरि राजनीति सुरु भएको छ। केही दिनअघि मात्र अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २ लाख नाघेको थियो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता यही वर्षको अन्त्यमा कोरोना भाइरसको भ्याक्सिन बजारमा आउने दावी गरेका थिए। 

राष्ट्रपति ट्रम्पको यो दावीको खिल्ली उडाउँदै राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार जो वाइडेनले आरोप लगाएका छन्, ‘यो सबै चुनावी हत्कण्डा मात्र हो।’

उनले हालै एउटा साक्षात्कारमा भनेका छन्, ‘म एउटा कुरा स्पष्ट पार्न चाहन्छु। मलाई भ्याक्सिन छिटो आउँछ भन्नेमा किनपनि विश्वास छ भने म वैज्ञानिकप्रति विश्वस्त छु। तर, ट्रम्पप्रति मलाई फिटिक्क विश्वास छैन।’

ट्रम्पविरूद्ध पहिले जातिय विभेदलाई लिएर वाइडेन आक्रामक थिए। तर, भ्याक्सिनको विषयमा ट्रम्पको पछिल्लो घोषणाले वाइडेनलाई असमञ्जसमा पारेको छ। ट्रम्पले पनि मौकाको फाइदा उठाउँदै वाइडेनमाथि आरोप लगाएका छन्, ‘वाइडेन चाहदैनन्, भ्याक्सिन छिटो तयार भएर जनतासमक्ष पुगोस्। यसैले उनी नयाँ–नयाँ कुरा भनिरहेका छन्। मानिसको ध्यान अन्यत्र मोड्न खोजिरहेका छन्।’

केन्द्रीय रोगथाम विभाग (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले पहिले नै स्पष्ट पारिसकेका छन्, भ्याक्सिन तत्कालै बजारमा आएपनि सबै अमेरिकी समक्ष पुग्न आउँदो वर्षको जुन–जुलाईसम्म कुर्नुपर्छ। रेडफिल्डको यो भनाईप्रति ट्रम्प त्यति खुसी छैनन्। 

वाइडेनको आरोप छ, चुनावलाई हेरेर ट्रम्प भ्याक्सिनको लागि छिटो स्विकृति चाहन्छन्। यसका लागि ट्रम्पले सीडीसी र एफडीए (फुड एण्ड ड्रग विभाग) लाई दबाब दिइरहेका छन्।  

वाइडेनको भनाई छ, ‘क्यालेन्डर हेरेर वैज्ञानिक सफलता तय गर्ने विषय होइन। भ्याक्सिनको स्विकृति र वितरण राजनीतिलाई आधार बनाएर गरिनु राम्रो होइन। यसलाई विज्ञान र सुरक्षाको हिसाबले स्विकृति प्रदान गर्नुपर्छ।’

राष्ट्रपति ट्रम्प ३ नोभेम्बरमा हुने अमेरिकी चुनावअघि भ्याक्सिन सार्वजनिक गर्ने अभियानमा छन्। पहिले भ्याक्सिन अमेरिकाको चुनावमा त्यति ठूलो मुद्धा थिएन। तर, अहिले यो सबैभन्दा ठूलो चुनावी नारा बन्दै गइरहेको छ। भ्याक्सिनलाई लिएर ट्रम्पको पछिल्लो भनाईले स्वास्थ्य विभागका पदाधिकारी पनि केही दबाब महसुस गर्न थालेका छन्।  

राजनीतिक रूपले सचेत नागरिक पनि भ्याक्सिनको स्विकृतिलाई लिएर भइरहेको राजनीतिको कारण अचम्ममा परेका छन्। ट्रम्पको आरोप छ, वाइडेन चुनाव जित्न महामारीलाई चुनावी एजेन्डा बनाइरहेका छन्। यस्तै, बुझाई वाइडेनको ट्रम्पप्रति छ। वाइडेन पनि भ्याक्सिनको स्विकृति छिटो गराएर ट्रम्प फेरि चुनाव जित्ने अभियानमा रहेको बताउँछन्। 

ट्रम्पले आफ्नो चुनावी अभियानमा पटकपटक भनिरहेका छन्, ‘वाइडेनले भ्याक्सिनविरूद्ध आन्दोलन सुरु गरेका छन्।’ यस्तै, डेमोक्र्याटबाट उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसले भनेकी छिन्, ‘ट्रम्प यदी भ्याक्सिन सुरक्षित भएको दावी गर्छन भनेपनि मलाई उनको कुरामा विश्वास छैन।’

केही समयअघि मात्र अमेरिकी मिडियासँग कुराकानी गर्ने क्रममा वाइडेनले भनेका थिए, ‘यदी वैज्ञानिकले भ्याक्सिन सुरक्षित छ भन्छन् भने म मान्न तयार छु। नभए ट्रम्पको कुरामा विश्वास छैन।’

गत मंगलबार मात्र ट्रम्पले एउटा कार्यक्रममा भनेका थिए, ‘हामी भ्याक्सिन सफलताका साथ सार्वजनिक गर्ने अभियानमा निकै नजिक छौं। तीन या चार सातामा आउन सक्छ।’

विश्वमा अहिले ३० वटा भ्याक्सिनमा काम भइरहेको छ। अमेरिकामा तीनवटा भ्याक्सिनको परीक्षण अन्तिम चरणमा छ। वाइडेनले भनेका छन्, ‘हाम्रो राष्ट्रपतिसँग महामारीको समस्याबाट जनतालाई बाहिर निकाल्ने कुनै योजना छैन। अमेरिकाको अवस्था झन् दयनीय बन्दै गइरहेको छ। यो भाइरस कुनै चमत्कारले समाप्त हुँदैन। यदी भ्याक्सिन सार्वजनिक भयो भनेपनि २०२१ अघि सबै अमेरिकी नागरिकलाई उपलब्ध हुँदैन।’

गत बुधबार एक पत्रकारले वाइडेनसँग प्रश्न गरेका थिए, ‘तपाई आफै मास्कलाई देशभरि अनिवार्य बनाउने अभियानको नेतृत्व गरिरहनुभएको छ। यसमा राष्ट्रीय सहमति कसरी जुट्छ?’ वाइडेनले यस विषयमा आफ्नो धारणा राख्दै भनेका थिए, ‘म पूर्ण विश्वस्त छु, राष्ट्रपति बनेपछि मसँग कानुनी अधिकार लिने बाटो खुल्छ। यदी राज्यमा खतराको स्थिति देखियो भने कुनै कानुन लागु गर्दा के बिग्रिन्छ र?’

वाइडेनलाई यतिबेला अर्को प्रश्न पनि गरिएको थियो–‘के तपाईसँग कानुनी अधिकार भएको भए मास्कलाई अनिवार्य गर्नुहुन्थ्यो?’ यसको जवाफमा उनले भनेका छन्, ‘निश्चय नै। म कार्यकारी अधिकार प्रयोग गरेर यसलाई लागु गराउँथे।’

प्रकाशित मिति: : 2020-09-20 11:43:11

प्रतिकृया दिनुहोस्