सीमा पारीका भारतीय वीरगञ्ज प्रवेश गरेर पीसीआर परीक्षण गर्ने गरेको खुलासा

अबैध प्रवेश जारी रहे अवस्था भयावह हुन सक्छ: चिकित्सक

भारतीयहरुले कानुन विपरित वीरगञ्जमा पीसीआर परिक्षण गर्ने गरेको खुलासा भएको छ। 

पर्सा–बाराका ग्रामिण नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई झुक्याउँदै वीरगञ्ज पुगेर उनीहरुले परीक्षण गर्ने गरेको खुलासा भएको हो। 

नारायणी अस्पताल प्रयोगशालाले आइतबार राति सार्वजनिक गरेको नतिजा अनुसार पर्साबाट १७७ जनाको र बाराबाट १५ जनाको स्वाब संकलन गरी कुल १९२ जनाको पीसीआर परीक्षण गरेको थियो। जसमा ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। 

जसमध्ये पर्साका ३८ वर्षीय, बाराका ५९ वर्षिय, सर्लाहीका ४४ वर्षीय तीन पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। 

सर्लाहीको युवक वीरगञ्जमै बसोबास गर्ने गरेका छन्। ५ मध्ये ४१ वर्ष र ५८ वर्षका दुई भारतीय नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘उहाँहरु कहाँका हुन् र कसरी पीसीआर परीक्षण गराएका भन्ने खुलेको छैन। हामी खोजिनिति गर्दै छौं,’ उनले भने।  

अहिले नारायणीमा दैनिक ८० देखि सय जनाको ‘पेड’ पीसीआर परीक्षण भइरहेको छ। 

दुई हजार शुल्क तिरेर गराइने पीसीआरमा दैनिक ३० जनाभन्दा बढी भारतीय नागरिकहरु हुने गरेको नारायणी अस्पताल स्रोतको दावी छ।

यसरी भारतीयलाई सुविधा दिइयो भने काठमाडौं, भरतपुर, पोखरा तथा पुर्बको जिल्ला लगातयमा रोजगारी गर्न जाने भारतीयहरुको लर्को नेपाली सीमा लाग्ने छ।

‘भारतीयहरु आएर वीरगञ्जका आफन्तजनको नागरिकता, ठेगाना र घर उपयोग गरी पीसीआर परीक्षण गराइरहेका छन्। यो क्रम जारी रहे भोलि अवस्था भयावह हुन सक्छ,’ एक चिकित्सकले बिएल नेपाली सेवालाई भने।

भारतमा अहिले महामारी तिव्र रुपमा अघि बढेको छ। आजसम्मको डाटा हेर्ने हो भने  कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कुल संख्या ५४ लाख ८७ हजार ५८१  पुगेको छ। यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ। 

यता सीमा नाकामा अबैध घुसपैठलाई रोक्नु पर्ने चिकित्सकहरु बताउछन्।  ‘यदि कोही भारतीयमा संक्रमण देखियो र त्यो भाग्यो भने जिम्मा कसले लिने?,’ एक चिकित्सक प्रश्न गर्छन्, ‘पर्सा, बारामा एकतर्फ परीक्षण घटाएर ग्रिन जोन बनाउने हतार छ अर्को तर्फ भारतीयहरु धमाधम पिसिआर परिक्षण गरी नेपाल भित्रिरहेका छन्, यस्तो गलत कामलाई रोक्नुपर्छ।’

यस विषयमा सशस्त्र प्रहरी बल १३ नं गण पर्सा सशस्त्र कार्यालयका प्रमुख एसपी राजेन्द्र खडकासँग बुझ्दा उनले आफूले पनि भारतीयहरु गोप्य रुपमा प्रवेश गरेको सुनेको बताए। ‘यो कुरा तपाईहरु जस्तै सञ्चारकर्मीबाट सुनेको छु। यसलाई रोक्न मेरो मातहतका सबै बिओपीलाई निर्देशन दिइसकेको छ,’ उनले भने। 

प्रकाशित मिति: : 2020-09-21 14:48:55

प्रतिकृया दिनुहोस्