नागरिक दैनिकमा पत्रकार, कर्मचारी र मजदुरको धर्ना

नागरिक दैनिकमा कार्यरत पत्रकार, कर्मचारी र मजदुरले पेशागत रक्षाका लागि पाँच दिने सत्याग्रह सुरू गरेका छन्। 

नेपाल रिपब्लिक मिडिया प्रा.लि.द्वारा सञ्चालित नागरिक दैनिकले नियमित रूपमा पारिश्रमिक नदिएको तथा पूर्वजानकारी बिनै जागिरबाट निकालेको विरोधमा काठमाडौं बागदरबारस्थित केन्द्रीय कार्यालय अगाडि सोमबारदेखि सत्याग्रह सुरू भएको हो।

नागरिक दैनिकका डेस्क इडिटर सुविद गुरागाईंलगायत सत्याग्रह बसेका छन्।

संस्थाले कर्मचारीप्रति बेइमानी गरेकाले बाध्य भएर आफूहरू सत्याग्रह सुरू गरेको गुरागाईले बताए। ‘लकडाउनका बेला घर पठाइएका श्रमजीवीहरूलाई एउटा मेल पठाएर तेरो जागिर छैन भन्न मिल्छ?, आजै एउटा कर्मचारीलाई तेरो जागिर सकियो, अर्को मानिस राखियो भन्ने जवाफ दिएछन् यस्तो गर्नु त बेइमानी हुन्छ नि,’ उनले भने।

उनले असारमा प्रकाशन गृहले काममा बोलाए पनि आफूहरू बाहिर रहेको र बिरामी भएकोले कार्यालय आउन नपाएको उनले बताए।

वर्क फर्म होममा राखे पनि नियतवश आफूहरूलाई काम नदिइएको उनले बताए। ‘यसमा पनि प्रकाशन गृहले भेदभाव गर्‍यो। कसैलाई अनलाइनबाटै काम गर्न दिइएको छ तर मलाई त अनलाइनबाट पनि काम गर्न दिइएन। जसरी पनि दु:ख दिने र जागिरबाट निकाल्न खोजिएको थियो,’ उनले भने।

उक्त दैनिकमा कार्यरत अर्का एक पत्रकारका अनुसार नियमित तलब दिइएको छैन।

‘जेठ र असारको तलब बल्लबल्ल पाइएको छ,’ उनले भने, ‘दुई महिनाको तलब पाएका छैनौं।’

विभिन्न दबाबमूलक कार्यक्रम गरे पनि प्रकाशन गृहले नियमित तलब नदिएको उनले जानकारी दिए।

‘कोरोनाका बेला जोखिम मोलेर रिपोर्टिङ, सम्पादनलगायतका कामहरू गरिएको छ, तैपनि नियमित तलब पाइएन,’ उनले भने, ‘लकडाउनका बेला नि:शुल्क पत्रिका बाँडेको प्रकाशन गृहले दिनरात नभनी काम गरिरहेका पत्रकार, कर्मचारी र मजदुरलाई नियमित तलब दिएन।’

नागरिक दैनिकमा गरिएको सत्याग्रहमा नेपाल पत्रकार महासंघले पनि ऐक्यवद्धता जनाएको छ।

कोरोनाका बाहनामा प्रकाशन गृहले पत्रकार, कर्मचारी र मजदुरलाई पूर्वजानकारीविनै निष्कासन गरिएकोले पत्रकार महासंघले समस्या समाधान गर्न पटकपटक आग्रह गरिसकेको बताएको छ।

नागरिक दैनिकले भने पत्रकारहरूलाई लकडाउन सुरू भएपछि वर्क फर्म होम राखेको र असारदेखि काममा बोलाए पनि नआएकोले केही समस्या देखा परेको बताएको छ।

नागरिकको व्यवस्थापनले भने पत्रकार, मजदुर र कर्मचारीलाई चैत, वैशाख, जेठ महिना वर्क फ्रम होममा राखिएको तर असारमा काममा बोलाउँदा उनीहरू नआएपछि समस्या उत्पन्न भएको बताएको छ। 

असारसम्मको तलब पनि केही दिनअघि दिइसकेको व्यवस्थापनको दाबी छ।

नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलले यो सम्पादकीय भन्दा पनि व्यवस्थापकीय समस्या भएको र समाधानका विषयमा छलफल भइरहेको बताए।

प्रकाशित मिति: : 2020-09-21 17:44:34

प्रतिकृया दिनुहोस्