तल्लो तहको समस्या बुझ्न आइजीपी खटिए फिल्डमा

तल्लो तहका कर्मचारीको अवस्था बुझ्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द खनाल फिल्डमा खटिएका छन्। 

आफ्ना कर्मचारीको पिर मर्का बुझ्न र फिल्डमा भइरहेका कामबारे बुझ्न महानिरीक्षक खनाल दुई नम्बर प्रदेशको विभिन्न युनिटमा पुगेका हुन्। 

सप्तरीबाट शुरु भएको उनको निरीक्षण सीमा क्षेत्रमा रहेका बोर्डर आउट पोस्ट तथा कोरोना संक्रमण नियन्त्रण गर्न स्थापना गरिएका फर्वाड वेशहरुको समेत निरीक्षण गरेका छन्। 

संगठन प्रमुखबाट तल्लो दर्जाका कर्मचारीसँग प्रत्यक्ष भेटेर उनीहरुको समस्या सुन्ने, कसरी ड्यूटी परिचालित छन् भनेर बुझ्ने र उनीहरुको हौसला बढाउन कार्य भएको सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले जनाएको छ। 

निरीक्षणका क्रममा खनालले विषम परिस्थितिमा राष्ट्र सेवामा खटिनुपर्ने आफ्नो कर्तव्यलाई नभुल्न र राज्यले दिएको जिम्मेवारी उच्च अनुशासन, नैतिकता र इमान्दारिताका साथ पुरा गर्न निर्देशन दिएका छन्। 

त्रिपाल मुनि बसेर ड्यूटी गरिरहेका कर्मचारीलाई प्रत्यक्ष भेटेर सुखदुःख साट्न आएको उनले बताए। 

यस्तो परिस्थितिमा संगठन प्रमुख आफ्ना कर्मचारिको मनोबल उच्च बनाउन प्रत्यक्ष फिल्डमा खटिँदा र आफूले अगाडि उभिएर चिफसाबसँग केही कुरा भन्न पाउँदा गर्व अनुभूति भएको कर्मचारीको भनाइ छ।

प्रकाशित मिति: : 2020-09-22 12:06:37

प्रतिकृया दिनुहोस्