दमौलीमा कालोपत्रे शुरु

रासस

दमौली 

तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रेदेखि बुद्धसिंह मार्गको घुमाउने जोड्ने थारुवास–ढाडखोलाको सडक कालोपत्रे शुरु गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर गाउँपालिका–२ स्थित थारुबासमा  कालोपत्रे शुरु गरिएको हो। प्रदेश सरकारको रु ५० लाखको सहयोगमा ६ सय मिटर सडक कालोपत्रे शुरु गरिएको हो भने नाला निर्माण सम्पन्न भइसकेको बन्दीपुर ढाडखोला मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष सुदिन पौडेलले जानकारी दिए। उनका अनुसार एक साताभित्र कालोपत्रे निर्माण सम्पन्न हुनेछ। 

सडक कालोपत्रे नहुँदा वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये समस्या रहँदै आएको छ।  सोही सडक खण्डमा थप १ हजार ५ सय मिटर सडक कालोपत्रेको काम शुरु गरिनेछ। त्यसका लागि बोलपत्र सम्पन्न भइसकेको र सडक कालोपत्रेको ठेक्का दमौलीस्थित डायमन्ड कन्स्ट्रक्सन प्रालिले पाएको छ। सङ्घीय सरकारमार्फत् विनियोजित रु एक करोड ७० लाखको लागतमा उक्त खण्ड कालोपत्रे गरिनेछ।

सोही खण्डमा केही समय अगाडी मात्रै रु दुई करोडको लागतमा नयाँ ट्रयाक खोलिएको छ। उक्त खण्डमा रहेको पहाड फोरेर तीन किमि नयाँ ट्रयाक खोलिएको अध्यक्ष पौडेलले जानकारी दिए। 'पहरा भएको ठाउँ फोरेर नयाँ ट्रयाक बनाइसकेका छौ, त्यस खण्डमा पनि निकट भविष्यमै सडक कालोपत्रे गरिने र घुमाउनेसम्मकै सडक कालोपत्रे गर्ने योजना छ' उनले भने, 'त्यसपछि यहाँका जनातालाई आवतजावतमा सहज हुन्छ।' बन्दीपुरको डुम्रेदेखि घुमाउनेसम्म सडक कालोपत्रे भएपछि तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाका बासिन्दालाई नारायणगढ जान सहज हुन्छ। सोही खण्डमा यस अगाडी नै बन्दीपुर गाउँपालिकाको बजेटमा एक हजार दुई सय ७० मिटर सडक कालोपत्रे भइसकेको छ। 

स्वास्थ्य सेवा शुरु
एक हप्तादेखि बन्द रहेको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित खैरेनी स्वास्थ्य चौकीको सेवा आजबाट शुरु भएको छ। गत भदौ अन्तीम साता स्वास्थ्य चौकीमा परीक्षण पश्चात  पोखरा रिफर गरिएकी एक महिलामा पोखरामा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३१ गतेदेखि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको थियो।  ती महिलाको कन्ट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यचौकीका १४ कर्मचारीको सोमबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सम्पूर्ण सेवा सुचारु गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए। “रिपोर्ट नेगेटिभ आइसकेकाले स्वास्थ्यचौकी सङ्क्रमणरहित गर्ने काम गरिसकिएको छ,” उनले भने, “अब पूर्ववत् सेवा सञ्चालन हुनेछ।”

तीन स्थानमा बन्दाबन्दी
एकैदिन १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्लागण्डकीका तीन स्थानमा लकडाउन गरिएको छ। नगरकार्यपालिकाको सोमबार बसेको बैठकले शुक्लागण्डकी –५ र १० का तीन स्थानमा आजदेखि लकडाउन गर्ने निर्णय गरेको हो। नगरप्रवक्ता खिमबहादुर कुमालका अनुसार शुक्लागण्डकी–५ स्थित ज्ञानज्योती टोल र शान्तिटोलको सम्पूर्ण क्षेत्र, शुक्लागण्डकी–१० स्थित साखेबजारको सम्पूर्ण क्षेत्रमा एक साताका लागि हिँडडुल र व्यवसाय सञ्चालन गर्न बन्देज गरिएको छ। सोमबार शुक्लागण्डकी–५,६,८,१० र ११ का १७ जनामा कोरोना पुष्टि भएको थियो। 

फोटोले बन्ने भयो विपन्नको घर
 तनहुँको बन्दीपुर गाउँपालिका–२ आरथुम्कामा एउटा भत्किएको घर छ। अनि घरसँगै छ दाउराले बारेको झुप्रो। झुप्रोभित्र विगत लामो समयदेखि बस्दै आएका छ ६७ वर्षीया मनिसरा भुजेल र उनका श्रीमान् सोमबहादुर भुजेल। मनिसरा प्यारालाइसिस भएर विगत तीन वर्षदेखि ओछ्यान परेका छन्। श्रीमान् पनि उमेर ढल्किसकेकाले काम गर्न सक्दैनन्। उपचार गर्ने त परको कुरा, उहाँहरुसँग अहिले खाद्यान्न पनि छैन। बन्दीपुर गाउँपालिकाले मनिसराको परिवारलाई तीन पटक राहत दिएको थियो।

झुप्रोलाई आश्रयस्थल बनाइरहेका मनिसरालाई लायन्स क्लव अफ पोखरा पिपलचौतारी घर निर्माण गरिदिने भएको छ। नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्तीको पहलमा उक्त ठाउँ पुगेको क्लवको पदाधिकारीले भुजेल परिवारलाई घर बनाइने प्रतिवद्धता जनाएको हो। 'भदौ २० गते काम विशेषले उक्त ठाउँमा पुगेको थिएँ, उहाँहरुको अवस्था देखेपछि फेसबुकमा फोटो राखेको थिएँ' उनले भने, 'त्यसपछि उहाँहरुको बारेमा सोधखोज गर्नेहरु बढेका छन्।' केही व्यक्ति तथा सङ्घसंंस्थाले आर्थिक सहयोग पनि गरेको उनले जानकारी दिए।

घर्तीकै पहलमा उक्त ठाउँ पुग्नुभएका क्लवका अध्यक्ष डा। ढाकाकुमार श्रेष्ठ, सचिव डा। विवेक लम्साल लगायतले भुजेलको स्वास्थ्य परीक्षण गर्दै घर बनाइदिने प्रतिबद्धता जनाएका छन्। 'भुजेल परिवारलाई ओत लाग्ने घरको आवश्यकता देखेपछि उहाँहरुले घर निर्माण गरिदिन्छौ भन्नुभएको छ' उनले भने। 

सांसदको तलबभत्ता सङ्घसंस्थालाई
 सांसद कृष्णकुमार श्रेष्ठले विभिन्न संस्थालाई तलबभत्ताको रकम सहयोग गrekaa छन्। उनले यातायात क्षेत्रका मजदुरलाई राहत उपलब्ध गराउन  रु ५० हजार, खानेपानी योजनाका लागि रु ५० हजार, बन्दीपुर गाउँपालिका निवासी गोविन्द अधिकारीको उपचारका लागि रु १५ हजार, मिर्गौला पीडित व्यास नगरपालिका–११ निवासी हरिबहादर थापाको उपचारका लागि रु १५ हजार प्रदान गरेका हुन्। श्रेष्ठले सांसदमा निर्वाचित भएदेखि नै तलब भत्ता बापतको रकम जिल्लाको विभिन्न सामाजिक सङ्घसंस्थालाई उपलब्ध गराउँदै आएका छन्। 

 एनेस्थेसिया उपकरण जडान 
तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ८ गते उपलब्ध गराएको उक्त उपकरण अस्पतालमा जडान गरिएको हो। एनेस्थेसिया बिरामीलाई पूर्णतः बेहोस बनाउने उपकरण हो। बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त उपकरण गण्डकी प्रदेशको दमौली सहित स्याङ्जा जिल्ला अस्पताललाई पनि हस्तान्तरण गरिएको थियो। उक्त उपकरण जडान गरिएपछि विशेषतः अस्पतालमा सुत्केरी गराउने महिलालाई सहज रुपमा सेवा प्रवाह गर्न सकिने दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए। उक्त उपकरणले बत्ती नभएको अवस्थामा पनि दश केजी बराबरको अक्सिजन आफैले उत्पादन गर्न सक्छ। 

व्यवस्थापन समितिले जनशक्ति, ल्याब सामग्री खरिद तथा कर्मचारी आवास कार्यक्रमका लागि निक साइमनसँग रु ५० लाख बराबरको सम्झौता समेत गरेको छ। आकस्मिक कक्ष, सुत्केरी कक्ष, प्रयोगशालाका लागि आवश्यक उपकरण लगायत खरिदका लागि सम्झौता गरिएको छ। अस्पतालले निकट भविष्यमै थाइराइडको पनि उपचार शुरु गर्न लागेको। त्यसका लागि एक जना प्राविधिक आवश्यक पर्ने भएकाले सोको पनि निक साइमनसँग सम्झौता गरिएको छ। त्यस्तै फिजियोथेरापी सेवा शुरु गर्नका लागि एक जना चिकित्सक, फार्मेसी व्यवस्थापनका लागि बि फार्मेसीको माग गरिएको छ। 

अस्पतालमा पछिल्लो समय विभिन्न उपकरणहरु थप गरिँदै लगिएको छ। केही समय अगाडी मात्रै सङ्घीय सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कोष मार्फत् दश श्ययाको चार वटा भेन्टिलेटर सहितको आइसियु निर्माणका लागि अस्पताललाई रु दुई करोड विनियोजन गरेको छ।

प्रकाशित मिति: : 2020-09-22 13:07:10

प्रतिकृया दिनुहोस्