मृतकका परिवारलाई दुई लाख सहयोग

रासस

लमजुङ
सांकेतिक तस्बिर

लमजुङमा चट्याङबाट मृत्यु भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको परिवारलाई राहतस्वरुप रु दुई लाख प्रदान गरिएको छ। 

जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले राहतस्वरुप रु दुई लाख मृतकका परिवारलाई आज सहयोग उपलब्ध गराएको हो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतक विकको आमा जुठी विकलाई रु दुई लाख हस्तान्तरण गरे। 

नेपाल सरकारको नियमानुसार उक्त रकम परिवारलाई मृतक सन्तको काजकिरियाका लागि सहयोग पुग्ने प्रजिअ शर्माले विश्वास व्यक्त गरे। परिवार गुमाउँदा ठूलो चोट पुगे पनि सरकारको राहतले आलो घाउमा मलम लगाउने प्रयास गरेको छ। उक्त समितिले मृतक परिवारलाई मृत्यु भएको २४ घण्टा नपुग्दै उक्त राहत वितरण गरेको छ। मृतक छोरा बुहारी र नातिको काजकिरिया गर्नका लागि केही सहयोग पुग्ने उनको भनाइ छ। 

उक्त समितिले मृत्यु भएको केही घण्टामा नै मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ। रकम हस्तान्तरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष भोजबहादुर रिमाल, आफन्त तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सोमबार साँझ चट्याङबाट घाइते भई जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृतक विकको राति नै मृत्यु भएको थियो।

मृतकको शवपरीक्षण गरी आज दाहसंस्कार गरिएको छ। मृतक विकको आमा, श्रीमती, एक छोरा र दुई छोरी छन्। त्यस्तै सोही चट्याङबाट सोही गाउँकी २२ वर्षीय घाइते चिजा गुरुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि आज दिउँसो डिस्चार्ज छन्। घाइते गुरुङ करीब २२ घण्टाको उपचारपश्चात् निको भएर घर फर्किएका हुन्। घाइते गुरुङको उपचार खर्च उक्त समितिले व्यहोर्ने प्रजिअ शर्माले बताए। 

प्रकाशित मिति: : 2020-09-22 17:14:53

प्रतिकृया दिनुहोस्