सुदूरपश्चिममा पनि खुल्न थाले विद्यालयहरु

हिमाल जोशी 

कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरु खुल्न थालेका छन्। कोरोना महामारी बढ्दै गएपछि सरकारले घोषणा गरेको लकडाउनका कारण चैतदेखि बन्द रहेका विद्यालय विस्तार खुल्न थालेका हुन्।

सुदूरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तहमध्ये विभिन्न जिल्लाका ७ वटा स्थानीय तहले शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय संचालन गरेका छन्।

सरकारको पछिल्लो निर्णयसँगै अधिकांश विद्यालयहरुले वैकल्पिक माध्यममा पढाई संचालन गरे पनि प्रदेशका ७ वटा स्थानीय तहका विद्यालय भने पूर्णरुपमा संचालनमा आएका छन्। बाजुराको एक, बझाङको एक, अछामको एक, बैतडीका दुई, डोटीको एक र कैलालीको एक स्थानीय तहले आफ्नो स्थानीय तहमा रहेका सम्पूर्ण विद्यालय पूर्ण रुपमा संचालनमा ल्याएका छन्।

कैलालीको कैलारी गाउँपालिकाका विद्यालयहरु यहि असोज ४ गतेदेखि संचालनमा आएका छन्। गाउँपालिकाले कोभिड– १९ ले बन्द रहेको विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेसँगै विद्यालय सञ्चालनमा आएका हुन्। गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका २०७७ अनुसार वैकल्पिक शिक्षा प्रणाली अपनाई विद्यालय सञ्चालनमा ल्याएको हो।

वैकल्पिक शिक्षा प्रणाली अपनाई आवश्यक विधि, विद्यालय तथा विद्यार्थीको वर्गीकरण, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया गरी सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन गरेको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-23 20:10:42

प्रतिकृया दिनुहोस्