लगातारकाे वर्षाले नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ।
ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल–भारत सिमानामा रहेको ब्यारेजका ३६ वटा ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए।
उनका अनुसार नदीमा बुधबार साँझबाट प्रतिसेकेन्ड तीन लाख १० हजार क्युसेक पानीको सतह पुगेकाे छ।
बिहीबार बिहान ९ बजे ब्यारेजमा तीन लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ। तीन लाख क्युसेक प्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको सिहंले बताए।
निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ।
यता नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएकाे छ। अहिले नारायणी नदीमा ८ दशमलव ७ मिटर पानीको सतह छ। नारायणी नदीमा ८ मिटर पुगेपछि खतराको सूचक मानिन्छ।