सन्दीपले भने- ‘दिल्लीलाई आइपिएल जिताउने लक्ष्य छ’

लेगस्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जिताउने लक्ष्य रहेको बताएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीपले दिल्ली क्यापिटल्ससँगको भिडओ कुराकानीमा ट्रफी जित्ने लक्ष्य रहेको बताएका हुन्। ‘दिल्ली मेरो मुटुमा छ। मलाई आफ्नो घर जस्तो लाग्छ। दिल्लीको अभ्यास र टोलीमा फर्किंँदा खुसि छु। दिल्ली र नेपाली समर्थकलाई म र मेरो टिमलाई समर्थन गर्न आग्रह गर्दछु। मैले मेरो देशबाट प्रतिनिधित्व गरिरहेको छु। म तपाईं सबै प्रति आभारी छु’, सन्दीपले भने।

क्वारेन्टाइन पछि नियमित अभ्यासमा टोलीसँगै फर्किएका सन्दिपले रिकी पोन्टिङ प्रशिक्षणमा खेल्न पाउनु अत्यान्त राम्रो मौका भएको बताएका छन्।

‘रिकी पोन्टिङ जस्तो लेजेन्ड्बाट सिक्न पाउनु साँच्चीकै यो एक राम्रो मौका हो । उनी वास्तवमै एक उत्कृष्ट, नम्र र राम्रो मान्छे हुन् । मलाई देखेर पोन्टिङ अत्यन्त खुसी भए । उनलाई भेट्ने बितिक्कै राम्रो क्षण थियो । रमाईलो किसिमको व्यक्ति उहाँले वास्तवमै सबैको ख्याल राख्नुहुन्छ । त्यसैले अति राम्रो लाग्छ’, सन्दीपले भने ।

‘मलाई लाग्छ यस वर्ष सुरुमा बिग ब्यास लिग खेले । त्यसपछि नेपालबाट केहि खेल खेले । अनि कोरोना महामारी सुरु भयो । त्यसपछि सिपिएल खेले । अब आइपिएल खेल्दै छु’, सन्दीपले थपे ‘आइपिएल हुँदा यसले सबैको अनुहारमा खुसी ल्याउने छ । यो भन्दा खुसी तपाईं अरु सोध्न सक्नुहुँदैन’ ।

सन्दीप लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलिरहेका छन्। जारी सिजनमा सन्दीपको टोली दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो। सन्दीप भने पञ्जाबविरुद्ध बेन्चमा थिए । दिल्लीले दोस्रो खेलमा शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ।

सन् २०१८ मा ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध भएका सन्दीपले त्यस वर्ष तीन खेल मात्र खेल्ने मौका पाएका थिए । तीन खेलमा पाँच विकेट लिएका थिए । सन्दीपले सन् २०१९ मा ६ खेलमा आठ विकेट लिएका थिए ।

सन्दीपले दिल्लीसँग दिएको अन्तर्वार्ता हेर्नुहोस् :

प्रकाशित मिति: : 2020-09-24 12:49:27

प्रतिकृया दिनुहोस्