म ‘राजकुमार’ होइन, सभापतिको स्वभाविक दाबेदार हुँ: प्रकाशमान सिंह

सेतोपाटी

काठमाडौं

नेपाली कांग्रेसको १४ औं महाधिवेशन, भावी नेतृत्व र समसामयिक राजनीतिबारे कांग्रेस नेता प्रकाशमान सिंहसँग सेतोपाटीका प्रशन्न पोखरेलले गरेको कुराकानीको सम्पादित अंश:

कुरा तपाईंको स्वास्थ्यबाट सुरू गरौं। छरितो देखिनुहुन्छ,  २२ किलो तौल कसरी घटाउनुभयो?

म मधुमेह, प्रेसरको बिरामी हुँ। केही समयअगाडि दुई पटक अस्पताल भर्ना हुनुपर्‍यो। अस्पतालबाट फर्केपछि पार्टीकै साथीहरूले शरीरको तौल घटाउन सुझाव दिए।

यसपछि मैले बालाजुका एक जना चिकित्सकलाई भेटें। उहाँले दैनिक १६ घन्टा भोको बस्न सुझाव दिनुभयो। म फास्टिङ गर्न थालें। तीन महिनामा २२ केजी घटेछु।

तपाईंको शरीर त छरितो भयो, नेपाली कांग्रेस पार्टीको स्वास्थ्य बिग्रँदैछ। कसरी सुधार गर्ने?

सक्रिय रूपमा राजनीतिमा लाग्न स्वास्थ्य पनि राम्रो हुनुपर्छ। म अब सबै साथीहरूलाई पार्टीको गहन जिम्मेवारी लिन मैले स्वास्थ्य सुधार गरिसकेँ भन्छु।

अब १४ औं महाधिवेशन आउँदैछ। पार्टीको स्वास्थ्य सुधार गर्ने अवसरका रूपमा सबैले महाधिवेशनलाई लिनुपर्छ।

कांग्रेसको सिद्धान्त बहुलवादमा आधारित संसदीय व्यवस्था राम्रो छ। इतिहास पनि राम्रो छ। तर काम भने भनेजस्तो गर्न सकेन।

संविधान बनाउनेजस्ता काम कम्युनिष्टले गर्न सकेनन् कांग्रेसले गरेर देखायो। तर संविधान कार्यान्वयन गरी संस्थागत गर्ने बेला जनताले कांग्रेसलाई म्यान्डेट दिएनन्। त्यसले पार्टीभित्र केही कमजोरी रहेछ भन्ने देखियो।

पार्टी सभापतिमा जनताको विश्वास भएन भने राम्रो नहुने रहेछ। राम्रो काम गर्ने भए नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने जनताको भनाइ छ।

त्यसकारण पार्टीलाई बुझेको, निष्ठावान्, तलदेखि दु:ख गर्दै आएको, सिद्धान्त बुझेकोजस्ता सबै कुरा भएकोलाई महाधिवेशनबाट नेतृत्वमा पुर्‍याउनु पर्छ।

सभापति शेरबहादुर देउवाले पनि प्रजातन्त्रका लागि संघर्ष गरेकै हो। पटक-पटक प्रधानमन्त्री पनि भएको, चौथो प्रयासमा सभापति पनि भएको हो तर उहाँले पार्टी राम्रोसँग चलाउन सक्नुभएन।

हरेक चार वर्षमा महाधिवेशन हुनुपर्ने हो। एक वर्ष थपियो। जुन विधानबाट उहाँ पार्टी सभापति हुनुभयो त्यही विधानअनुसार निर्देशित गरेका काम उहाँले गर्न सक्नुभएन।

प्रकाशित मिति: : 2020-09-24 16:05:01

प्रतिकृया दिनुहोस्