दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ ।
जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताए।
राजमार्गमा पहिरो आएको र केही स्थानमा सडक भासिएपछि यातायातका साधन चल्न कठिनाइ भएको छ। सडक विभागको डोजरले राजमार्गमा आएको पहिरो पन्छाउँदै गरेको भए पनि अविरल वर्षाले गर्दा माथिबाट पहिरो झरिरहेको छ ।
राजमार्गमाथि बनाइएका शाखा सडक खन्दा व्यवस्थापनमा ध्यान नदिइएका कारण राजमार्ग अवरुद्ध हुने गरी पहिरो आइरहेकाले सडक विभाग छिटो राजमार्ग सञ्चालनमा खटिएको जनाइएको छ।
धादिङ खण्डमा ७४ शाखा सडक खनेका कारण राजमार्ग सानो पानी पर्दा पनि पहिरो र लेदो झरेर राजमार्ग अवरूद्ध हुने गरेको छ ।
जताततै पहिरो आएका कारण सडकमा एकतर्फी यातायात सञ्चालन भएको छ । सडकका विभिन्न स्थानमा डोजरलाई तयारी अवस्थामा राखिएको छ । प्रहरीले सवारी साधनलाई सुरक्षित भएर मात्र यात्रा अघि बढाउन सुझाव दिएको छ।