हेटौँडामा पाउडर दूध उद्योग निर्माण हुने

रासस

वाग्मती 

वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ। उद्योग स्थापनार्थ प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पाउडर दूध उद्योगका लागि विस्तृत परियोजनासमेत तयार गरेको जनाएको छ। रु ४५ करोडको लागत अनुमान रहेको सो उद्योगका लागि  निर्देशनालयले ठेक्का आह्वान प्रक्रिया अगाडि बढाएको छ। प्रदेश सरकारले गठन गरेको वाग्मती प्रदेश दूध विकास बोर्डद्वारा उक्त उद्योग स्थापनाको कार्य भइरहेको छ। 

प्रदेश दूध विकास बोर्डका अधिकृत सत्रुधन शाहका अनुसार चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन भएको छ। हेटौँडा उपमहानगरपालिका–१० स्थित न्युरोनीमा उक्त उद्योग निमार्ण हुन लागेको हो। त्यसका लागि दुई बिघा जमिनसमेत छुट्याइएको शाहले बताए। 

प्रदेशको चितवन र मकवानपुरलगायतका क्षेत्रमा पशुपालक किसानले उत्पादन गरेको दूध विक्री नहुँदा दुग्ध विकास संस्थानको कार्यालय हेटौँडाले खरिद गरी पाउडर बनाउन विराटनगर लैजाने गरेको छ। संस्थानको विराटनगरमा पाउडर उद्योग छ। दूधको खपत बढाउन र उत्पादित दूध खेर जान नदिन पाउडर उद्योगको स्थापना गर्नु सराहनीय काम भएको किसानहरुको भनाइ छ।            

प्रकाशित मिति: : 2020-09-24 18:13:36

प्रतिकृया दिनुहोस्