जनतालाई भोक र रोगबाट बचाउन निर्देशन

रासस

काठमाडौँ 
सांकेतिक तस्बिर

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले महामारीको सबैभन्दा बढी प्रभाव परेका विपन्न र घरेलु श्रमिकको तथ्याङ्क सङ्कलन गरी सहयोगको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

सिंहदरबारस्थित समितिको कक्षमा आज बसेको बैठकले उक्त वर्गलाई रोग तथा भोगबाट बचाउनका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गरी आवश्यकताअनुसार सहयोग व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको हो। समितिका सभापति निरुदेवी पालले महामारीले ठूलो रुप लिएर फैलिँदै गएको हुनाले कानूनी, विधिगत संयन्त्रको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइन्।

महामारीका कारण कोरोना र मनसुनजन्य प्रकोपबाट समाज र देश नै प्रभावित भएको ठहर गर्दै खाद्यान्नको माग र आपूर्ति नमिल्दा अन्तराष्ट्रिय श्रम सङ्गठनका अनुसार विश्वभर बजारमा ८० प्रतिशतको रोजगार कटौती भएको जनाइएको छ। बैठकले भारतबाहेक अन्य मुलुकमा काम गरिरहेका करिब ४० लाख नेपालीको रोजगारी प्रभावित हुनसक्ने पूर्वआँकलन गरिएको हुनाले गरिबी तथा बेरोजगारी बढने हुँदा महामारीको अवस्थामा परेका व्यक्तिको तत्काल अध्ययन गर्न सरकार र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ।

बैठकमा नेपाली काँग्रेसका पुष्पा भुसालले रोग र भोगबाट बचाउनका लागि स्थानीय सरकारलाई केन्द्र सरकारले भरपुर सहयोग गर्नुपर्ने र निर्वाचनको बेलामा मतदाताको नामावली सङ्कलन गरेझै विपद्मा परेका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न बैठकमा सुझाव दिएकी दिइन्। समितिमा अरु सांसदले पनि महामारीमा जनतालाई भोक र रोगबाट बचाउनुपर्ने सुझाव दिएका थिए।

प्रकाशित मिति: : 2020-09-25 17:25:24

प्रतिकृया दिनुहोस्