एमीलाई सर्वोच्चको न्यायाधीश बनाउने ट्रम्पको प्रस्ताव, अदालतमा कन्जरभेटिभको बाहुल्य स्थापित हुने उदारवादीकाे चिन्ता

अमेरिकी सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलाई नियुक्त गर्ने प्रस्ताव गरेका छन्।

सर्वोच्च अदालतमा उदारवादी छवि बनाएकी न्यायाधीश रुथ बाडर गिन्सबर्गको ८७ वर्षको उमेरमा गत शुक्रबार निधन भएपछि उक्त स्थान रिक्त थियाे। 

नर्थ क्यारोलिना राज्यमा भएको चुनावी सभामा बोल्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीले विरोध गरे पनि न्यायाधीशमा मनोनयन गरेरै छाड्ने बताएका थिए। 

जसअन्तरगत सामाजिक रुढीवादीहरुकी प्रिय एमीलाई ट्रम्पले नियुक्त गर्न मनोनित गरेका हुन्।

ह्वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अपूर्व उपलब्धी हाँसिल गर्ने महिलाका रुपमा परिभाषित गरे। यसैगरि उनले एमीको नाम प्रस्ताव गर्दै उनी संविधानप्रति अटूट निष्ठा राख्ने व्यक्ति रहेको बताए।

माथिल्लो सदन सिनेटमा हुने सुनुवाईले उनको नाम पारित गरेमा एमीले सर्वोच्च अदालतमा दिवंगत न्यायाधीश गिन्सबर्गको स्थान लिने छिन्।   यसअघि नै हाल रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पनि राष्ट्रपति ट्रम्पले गर्ने मनोनयनलाई सिनेटले अनुमोदन गर्ने बताइसकेका छन्। याेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनमा नयाँ बहसको सिर्जना गरेकाे छ। 

तर, रिपब्लीकन पार्टीभित्रै आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनाव अघि न्यायाधीश नियुक्तीको कार्य गर्न नहुने बहस पनि चलेको छ किनभने यसअघि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा न्यायाधीश नियुक्त गर्न खोज्दा चुनावी वर्ष भन्दै रिपब्लीकनको बहुमत रहेको सिनेटले नै उक्त कार्य रोकेको थियो। 

डेमोक्रेट पार्टीले सन् २०१६ मा स्थापित पूर्व मान्यता अहिले पनि कायम राख्नुपर्ने अडान राखेका छन्। 

अहिले भने तिनै नेताले जति सक्दो चाँडो सुनुवाई प्रक्रिया सकेर नियुक्ति प्रक्रिया पूरा गर्ने बताएका छन्। सिनेटमा रिपब्लिकनको बहुमत छ। प्रस्तावित न्यायाधीशको नाम पास गर्नका लागि सामान्य बहुमत भए पुग्छ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ। डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले सिनेटले अमेरिकी जनताले आफ्नो नयाँ राष्ट्रपति चयन नगरेसम्म खाली न्यायाधीश पदका लागि हुने नियुक्ति प्रक्रिया सुरु नगर्न आग्रह गरेका छन्।

किनभने अमेरिकाका विभिन्न चुनावी मतसर्वेक्षणले आगामी चुनावमा राष्ट्रपति ट्रम्पले जित्ने सम्भावना झिनो रहेको देखाइरहेका छन् भने सिनेटमा पनि रिपब्लीकन पार्टी अल्पमतमा पर्ने सम्भावना छ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिको विषयलाई लिएर फेरि अमेरिकी चुनावमा नयाँ मोड सिर्जना भएको छ। कोरोना भाइरसको महामारीबाट झण्डै २ लाख मानिसको ज्यान गइसकेको, लाखौं मानिस बेरोजगार भएका र आपसी कलह बढ्दै गएको अवस्थामा त्यसलाई पन्छाएर राष्ट्रपति ट्रम्पले न्यायाधीश नियुक्तिलाई चुनावी मुद्दा बनाउन थालेका छन्। 

एमी नियुक्त भएमा अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत हुन्छ। ४८ वर्षकी एमी नियुक्त भएमा ट्रम्पले सर्वोच्चमा नियुक्त गरेको तेस्रो न्यायाधीश हुने छिन्।

अमेरिकाको संविधान अनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन्। 

अमेरिकामा गर्भपतन अधिकार समेतका महत्वपूर्ण विषयमा निर्णय गर्न नयाँ न्यायाधीश नियुक्तिले महत्वपूर्ण भूमिका खेल्नेछ। अहिलेको न्यायाधीश नियुक्तिसँगै अमेरिकी सर्वोच्च अदालतमा कन्जरभेटिभको बाहुल्य स्थापित हुने भन्दै उदारवादीहरुले चिन्ता व्यक्त गरेका छन्। 

प्रकाशित मिति: : 2020-09-27 07:29:31

प्रतिकृया दिनुहोस्