३३ नागरिक अगुवाहरुद्वारा डा. केसीको जीवन रक्षाको माग

 चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि निरन्तर अभियानरत अभियन्ता प्रा. डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै लागि ३३ जना नागरिक अगुवाले सरकारसँग अपिल गरेका छन् । 

विगत १४ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनीहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै सकारसँग जीवन रक्षाका लागि अपिल गरेका छन् ।

भदौ २९ मा जुम्लाबाट १९ औं अनशन सुरु गरेका डा. केसी ९ औं दिनमा काठमाडौं ल्याइएका थिए ।

“परीक्षणमा संलग्‍न चिकित्सकहरुका अनुसार उहाँको शरीर कमजोर भएको छ र कुनै पनि दिन परिस्थिति गम्भीर बन्‍न सक्नेतर्फ हामी सरकारको ध्यानाकर्षण गराउँदछौं । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा आम जनताको पहुँच हुनु पर्दछ । सर्वसुलभ स्वास्थ्य व्यवस्था मिलाउनु राज्यको कर्तव्य हो भन्दै उहाँ यसअघि १८ पटक अनशन बसिसक्नु भएको छ, ” उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले पनि उहाँको अनसनन तोडाउने क्रममा अनेकन पटक सम्झौताहरु गरेको छ । विभिन्‍न सरकारका समयमा पटक-पटक गरिएका ती सम्झौताको पूर्ण कार्यान्वयन नगरिँदा फेरि अनसन जस्तो कठोर बाटो अपनाउन बाध्य भएको डा. केसीले बताउँदै आउनु भएको छ ।”

संविधानले नै निर्दिष्ट गरेका स्वास्थ्य, शिक्षा जस्तो नागरिकका आधारभूत मानव अधिकारको विषय लागु गर्न एक जना वरिष्ठ चिकित्सक बारम्बार आमरण अनसनमा बस्‍नुपर्ने अवस्था हुनु दुःखद भएको उनीहरुले जनाएका छन् । 

संविधानले व्यवस्था गरेको मौलिक हकप्रति संवेदनशील हुन, डा. केसीसँग सरकारहरुले विगतमा पटकपटक गरेका सम्झौंता कार्यान्वयन गर्न र उनको जीवन रक्षाका लागि सरकारसँग अपिल गरेका छन् । 

यसरी अपिल गर्नेहरुमा पूर्व प्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशिला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिविका पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमालगायत ३३ जना रहेका छन् ।

प्रकाशित मिति: : 2020-09-27 16:44:51

प्रतिकृया दिनुहोस्