कोरोना परीक्षण आधा घण्टाभित्रै हुने र ५ डलरमात्र पर्ने किट १३३ देशमा पुर्‍याइने डब्लुएचओको घोषणा

एजेन्सी

काठमाडौं

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले १५ देखि ३० मिनेटभित्रै कोरोना भाइरस पत्ता लगाउने परीक्षण विधिलाई न्यून र मध्यम आय भएका मुलुकमा पुर्‍याउने जनाएको छ। यस्तो परीक्षणले त्यस्ता मुलुकमा कोरोना भाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रुपमा विस्तार गर्ने संगठनको दाबी छ।

५ डलरमात्र लागत पर्ने उक्त परीक्षण विधिले सकारात्मक परिवर्तन ल्याउने डब्लुएचओको भनाइ छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख डा टेड्रोस घेब्रेयससले यो विधि कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुंगा साबित हुने बताए। 

उनले नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले ३० मिनेटभित्रै नतिजा दिने बताए। डब्लुएचओले यसका लागि औषधि निर्माता कम्पनीहरु एब्बो र एसडी बायोसेन्सरले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनसँग सम्झौता गरेको जनाएको छ। जसअन्तर्गत छ महिनामा १२ करोड किट उत्पादन गरिनेछ। 

योसहमति अनुसार १ सय ३३ देशमा सहायता पुग्ने जनाइएको छ। यसले प्रयोगशालाको सुविधा  र पर्याप्त सुरक्षाकर्मी नभएका क्षेत्रमा परीक्षणको दायरा बढ्ने विश्वास डब्लुएचओले गरेको छ।

प्रकाशित मिति: : 2020-09-29 14:38:30

प्रतिकृया दिनुहोस्