कर्मचारी नहुँदा व्यापार कम्पनीको चामल वितरण हुन सकेन 

रासस

रुकुमपूर्व
सांकेतिक तस्बिर

रुकुमपूर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन। 

रुकुम–पूर्व छुट्टैजिल्ला स्थापना भए पनि कम्पनीको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा मागअनुसार समयमै चामल वितरण हुन नसकेको हो। कर्मचारी नभएकै कारण जिल्लामा अहिले ठेकेदारमार्फत कम्पनीको चामल वितरण भइरहेको छ। जसले गर्दा सबै नागरिकले सहजरुपमा कम्पनी लिमिटेडको चामल नपाएको गुनासो गरेका छन्। 

ठेकेदारमार्फत कम्पनीको चामल जिल्लामा पुगे पनि सीमित ठाउँमा मात्र वितरण हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्माका सूर्य बुढाले बताए। जिल्लामै शाखा स्थापना भई कर्मचारीको व्यवस्थापन गरेमा जिल्लावासीलाई धेरै सहज हुने उनको भनाइ छ। जिल्लामा अहिले कम्पनीको डिपो कार्यालय शोभा गाउँ र तकसेरा वितरण केन्द्र गरी दुई ठाउँबाट चामल वितरण भइरहेको छ। विगतका वर्षमा शोभा डिपोमा मात्रै एक हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिँदै आएको थियो। कर्मचारी अभावकै कारण निर्धारित कोटाको चामल वितरण हुन नसकेपछि पछिल्ला केही वर्षमा चामलको कोटा घटाएको कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम–पश्चिमका नीमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए।

जिल्लामा कर्मचारी नभएपछि चामल नियमित रुपमा बिक्री भएन। 'निर्धारित कोटा अनुसारनै पठाएको चामल थन्किएपछि केही वर्षयता रुकुम–पूर्वमा कोटा घटाएर चामल पठाइरहेका छौँ' उनले भने। पछिल्ला केही वर्षमा जिल्लामा पठाएको चामल यहाँको मागभन्दा निकै कम भएको खड्काको भनाइ छ। यस वर्ष जिल्लाको दुई ठाउँमा गरी एक हजार २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ। शोभा डिपोमा ७०० क्विन्टल र तकसेरा बिक्री केन्द्रमा ५००  क्विन्टल चामलको कोटा निर्धारण गरिएको रुकुम–पश्चिम कार्यालयका निमित्त प्रमुख खड्काले बताए। निर्धारित कोटाको चामल खपत भई थप माग गरेमा आवश्यकतानुसार जिल्लामा कम्पनी लिमिटेडको चामल पठाइने उनले बताए।

अहिले चामल वितरणका लागि ठेकेदारसँग ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको बताइएको छ। सम्झौताको काम सकिनेबित्तिकै दशँै अगाडि नै गाउँमा चामल पु¥याउने गरी काम अगाडि बढाइने बताइएको छ। शोभा डिपोका लागि दाङबाट र तकसेराको लागि भैरहवाबाट चामल आउने छ। रुकुम पश्चिममा रहेको कम्पनीको शाखाले दुवै जिल्लामा काम गर्छ। 

पटकपटक रुकुम–पूर्वका सरोकार निकायलाई डिपो स्थापना गरिदिन आग्रह गरिए पनि ध्यान नपुगेका कारण खाद्य आपूर्ति गर्न समस्या भइरहेको प्रमुख खड्काले बताए। रुकुमकोटमा शाखा स्थापना गर्नुका साथै हाल ठेक्कामार्फत वितरण भइरहेका ठाउँ गरी जिल्लाभर १० वटा डिपो कार्यालयको स्थापना गर्न गत वर्ष सिफारिस गरी पठाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको खड्काले बताए। 

प्रकाशित मिति: : 2020-09-30 16:30:15

प्रतिकृया दिनुहोस्