माई नगरपालिकामा ऐलानी जमिनमा बसोवास गर्दै आएका व्यक्तिबाट चर्को भिटौरी कर उठाएको भन्दै जनता समाजवादी पार्टीले विरोध जनाएको छ।
भूमि ऐन सम्वन्धि ज्ञान नभएका जनतालाई स्थानीय सरकारले सहुलियतमा सेवा प्रदान गर्नुको सट्टा कर असुलेर सास्ती दिएको भन्दै माई नगरसमितिले नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो।
नगरप्रमुख दीपक थेवेलाई पार्टीका अध्यक्ष टुपेन्द्र येक्तेनले ध्यानाकर्षण पत्र बुझाउँदै भिटौरी करमा विशेष छुट दिन आग्रह गरेका छन्।
कोभिड १९ को महामरीमा देश गुज्रिरहेका बेला गरिब जनतालाई विविध समस्या परेको र यस्तो अवस्थामा नगरपालिकाले निमुखा जनतासँग भिटौरी कर उठाएर ढाड सेकेको आरोप लगाइएको छ।
पार्टीले कर छुटको माग गर्दै नगरपालिका भित्रका १० वटै वडा कार्यालयमा समेत बोधार्थ दिएको छ।