कोलकाता नाइट राइडर्सलाई हराउँदै दिल्लीको तेस्रो जित, शीर्ष स्थानमा उक्लियो

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले कोलकातामाथि सानदारा जित निकालेको छ।

जारी प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा दिल्लीले कोलकातालाई १८ रनले हराउँदै तेस्रो जित निकालेको हो।

दिल्लीले दिएको २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१० रन मात्र बनाउन सक्यो।

कोलकाताका लागि नितिश रानाले अर्धसतकीय इनिङ्स खेल्दा इयान मोर्गन र राहुल त्रिपाठीले विस्फोटक ब्याटिङ गरे। मोर्गनले १८ बलमा ४४ रन जोड्ने क्रममा ५ छक्का र १ चौका प्रहार गर्दा त्रिपाठीले १६ बलमा ३ छक्का र ३ चौका प्रहार गरे। यस्तै ओपनर शुभम् गिलले २८ रन जोड्दा आन्द्रे रसेलले १३ रन जोडे पनि हारबाट बचाउन सकेनन्।

कोलकातालाई रोक्न दिल्लीका आरिन्च नोर्तेजले सर्वाधिक ३ विकेट लिए। हर्सल पटेलले २ विकेट लिँदा अमित मिश्रा, कागिशो रबाडा र मार्कस स्टोनिसले समान १-१ विकेट लिए।

यसअघि कप्तान श्रेयस ऐर र ओपनर पृथ्वी शा को उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्सले कोलकाता नाइटलाई २ सय २९ रनको विशाल लक्ष्य दिएको थियो।

शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो।

दिल्लीलाई विशाल योगफलसम्म पुर्‍याउन कप्तान श्रेयस ऐरले सर्वोत्कृष्ट ब्याटिङ गरे। ऐर ३८ बलमा ७ चौका र ६ छक्का सहित ८८ रनमा अविजित रहे। यस्तै ओपनर पृथ्वी शाले ६६ रन बनाउने क्रममा ४१ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे। यसअघि १६ बलमा २ चौका र २ छक्कासहित शिखर धवनले २६ रन जोडे।

पहिलो विकेटका लागि ओपनर शिखर धवन र पृथ्वी शा ले ५.५ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

दोस्रो विकेटका लागि शा र ऐरले ७३ रनको साझेदारी गरेका थिए । ऋषभ पन्त १७ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा क्याच आउट हुन पुगे।  तेस्रो विकेटका लागि पन्तले ऐरसँग ७२ रनको साझेदारी गरेका थिए ।

मार्कस स्टोइनिस १ रनमा आउट भए । शिम्रन हेटमायर ७ रनमा अविजित रहे ।

यता कोलकाताका लागि आन्द्रे रसेलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कमलेश नगरकोटीले ३ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । बरुणचक्रबर्तीले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट थिए।  प्याट कमिन्सले ४ ओभरमा ४९ रन खर्चिदा विकेटविहिन बने ।

यो जितसँगै जारी प्रतियोगितामा दिल्ली ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। समान अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै बैंगलोर दोश्रो स्थानमा झरेको छ। दिल्ली अघिल्लो खेलमा हैदरावादसंग १५ रनले पराजित भएको थियो भने त्यस अघि चेन्नाई र पन्जाबलाई पराजित गरेको थियो।

कोलकाता हारपछि पाँचौ स्थानमा पुगेको छ जसले ४ खेलमा २ जित र २ हार बेहोरेको छ। समान अंक रहे पनि मुम्बई र हैदरावाद नेटरन रेटमा कोलकाता भन्दा अघि रहेको छ।

दिल्लीले आगामी खेल सोमबार बैंगलोर बिरुद्ध खेल्नेछ। कोलकाताले बुधबार चेन्नाई बिरुद्ध खेल्नेछ। लिग अन्तर्गत आइतबार पनि २ खेल हुनेछ। पहिलो खेलमा मुम्बई र हैदरावाद शारजाहमा खेल्नेछन् जुन ३:४५ बजे सुरु हुनेछ। दोश्रो खेल पन्जाब र चेन्नाई बीच दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७:४५ बजे सुरु हुनेछ।

यसअघि आजै भएको पहिले खेलमा बैंलोरले राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै ४ खेलबाट तेस्रो जित निकाल्यो। 

प्रकाशित मिति: : 2020-10-04 00:16:33

प्रतिकृया दिनुहोस्