टिउसन पढाउन आएका शिक्षकबाट एक ५ वर्षिया बालिका बलात्कृत भएकी छन्।
पीडित बालिकाको डेरामै गएर टिउसन पढाउने विराटनगर महानगरपालिका १६ का गौरव साह नर्सरीमा पढ्दै आएकी एक बालिकामाथि बलात्कार गरेका हुन्।
गत बैशाखबाट ट्युसनका लागि पीडित परिवार बस्दै आएको घरमा ट्युसन पढाइसकेका २१ वर्षीय साहले शनिबार ट्युसन पढ्दै आएकी ५ वर्षीया बालिकामाथि गिद्धे दृष्टि राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
विगत ६ वर्षदेखि बहालमा बस्दै आएका पीडित परिवारकी नर्सरीमा पढ्दै आएकी बालिकासँगै उनका ११ वर्षीय दाजु, ४ वर्षीय भाइ र घरबेटीका ९ वर्षीय छोरालाई पनि साहले ट्यूसन पढाउदै आएका थिए।
सोही क्रममा शनिबार ५ वर्षीया बालिकामाथि बलात्कार गरेको देखेपछि ट्युसन पढ्दै आएका विद्यार्थीहरुले हल्लिखल्ली गरेका थिए। यसक्रममा पीडित बालिकाले समेत घटनाबारे अभिभावकलाई जानकारी गराएको रानीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।
कोरोना महामारीसँगै गएको ७ महिनादेखि विद्यालय ठप्प हुँदा पीडित परिवारका अभिभावकले बहालमा बस्दै आएको घरमै शिक्षक बोलाएर बालबालिकाको अध्ययनका लागि ट्युसनको सुरुवात गरेका थिए।
स्थानीय गौतम बुद्ध स्कुलमा अध्ययनरत सबै विद्यार्थीहरुलाई पढाउन छिमेकका साहलाई पीडित परिवारले ट्युसनका लागि आग्रह गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
बालबालिकाको पढाएलाई यथावत राख्नका लागि उनीहरु पढिरहेका विद्यालयका शिक्षकले नै ट्युसनको सल्लाह दिएको पीडित परिवारले जनाएको छ ।
प्रहरीका अनुसार बलात्कारमा परेकी बालिकालाई विराटनगरको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ।
प्रहरीले पक्राउ परेका साहविरुद्ध आइतबार जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरेको छ ।