काठमाडौंका ६ स्थानमा सहुलियत पसल सुरू, अनलाइनबाट पनि किन्न सकिने (भिडियो)

सरकारले दशैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन गरेको छ।

चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले सधाझै यस वर्ष पनि सहुलियत पसललाई निरन्तरता दिएको हो।

चाडपर्वलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले उपभोक्तालाई सरल र सहजताको लागि सहुलियत मूल्य पसल सन्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालय काठमाडौका प्रमुख रण बहादुर बुढाथोकीले बताए।

आगामी मंसिर ६ गतेसम्म रहने सहुलियत पसलमा दैनिक उपभोग्य सामानहरू, खाद्य वस्तु, दाल चामल, कर्णालीको सिमीलगायत लगायत सामाग्री साल्ट ट्रेडिङ कर्पोरेशनसँगको सहकार्यमा  बिक्रि गर्ने योजनामा रहेको बुढाथोकीले जानकारी दिए। 

प्रत्येक सामानमा प्रतिकिलो ५ रूपैयाले छुट दिएको भन्दै उनले कर्णालीको अर्गानिक सिमीमा  प्रतिकिलो १० रूपैया छुट दिएको बताए।

‘चामलमा प्रतिकिलो पाँच रूपियाँ, नुनमा प्रतिकेजी दुई रुपियाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपियाँ छुट पाइने छ भने चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट पाइने छ’, उनले भने, ‘च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकेजी १० छुट दिइने छ।’

चाडपर्वलाई लक्षित गरेर भेडा, च्याङ्ग्रा र खसीबोका ल्याउने तयारी भइरहेको उनले बताए। 

'हाम्रो योजना अनुसार मुस्ताङ्गबाट १ हजार च्याङ्ग्रा, वीरगन्जबाट ४ सय खसीबोका, दाङबाट ६ सय वटा खसीबोका ल्याउने प्रकिया सुरू भइसकेको छ’, उनले भने, ‘अहिलेको अवस्था राम्रो नभए पनि जस्तोसुकै जटिल अवस्था पार गर्दै यहाँ ल्याउन खोजेका छौ। ल्याएको चिज जनतालाई पारदर्शिता रुपमा वितरण गर्नेछौं।’ 

उपत्यकाका विभिन्न पाँच स्थानमा सहुलियत पसल सञ्चालन हुने उनले जानकारी दिए। थापाथली, लगनखेल, नक्खु, भक्तपुर र राम साह पथबाट सहुलियतमा समाग्रीहरू बिक्रि वितरण हुने गरेको उनले जानकारी दिए। 

विगतदेखि नै सहुलियत पसल सञ्चालन गर्दै आए पनि यस वर्ष बढ्दो कोरोना संक्रमणका कारण समान किनमेल गर्दा सावधानी अपनाउनुपर्ने उनले बताए। 'विगतका दिनहरुमा आम उपभोक्ता लाइनमा लागेर सिस्टमसँग बसेर उहाँहरुले सरल र सहजताका साथ खाद्यान वस्तु प्राप्त गर्नुहुन्थ्यो’, अहिलेको अवस्थालाई संकेत गर्दै उनले भने, ‘कोरोनाका कारण आम उपभोक्तालाई लिएर यहाँका कर्मचारीलाईसमेत प्रशिक्षित पारेका छौ। अहिलेको अवस्थामा सम्पूर्ण कर्मचारी, संलग्न हुने सरोकारवाला व्यक्ति र आम उपभोक्ताले पनि स्वयम् सतर्कता अपनाउनुपर्छ।’ 

सतर्कता मध्यनजर गरि समान किन्न आउने उपभोक्ताका लागि कम्तिमा ३ मिटरको दुरी कायम गरेर घेरा बनाइराखेको उनको भनाइ छ। 

केही हदसम्म सामाजिक दूरी कायम गरेमा कोरोनाबाट बच्न सकिन्छ भन्ने चेतनाको अभावले अधिकांश मानिसहरूले सावधानीको उपायहरू अपनाएका छैनन्। 

सरकारी कम्पनि भएकाले पर्याप्तमात्रामा स्टक रहेको उनले जानकारी दिए।

‘आम उपभोक्तालाई सहज ढंगका साथ आपूर्ति व्यवस्था मिलाउने हाम्रो कर्तव्य हो, त्यसमा हामी लागिनैरहेका छौं। हामी सफलता प्राप्त गर्छौं’, उनले भने। 

आम उपभोक्तालाई खाद्यानमा कुनै कमि हुन नदिने भन्दै उनले विदेशबाट कुनै पनि खाद्यान्न आयात नगर्ने दाबी गरे। 'नेपाल कृषि प्रधान देश हो, हामी आफैं किसानले खेतबाट उत्पादन गरेका अर्गानिक सामानहरु खरिद गर्छौं र त्यसलाई गुणस्तरीय बनाएर बिक्रि वितरण गर्छौं,’ उनले भने। 

आफूसँग जनतालाई पुग्दो मात्रामा स्टक रहेको उनको दाबी छ। 'जत्ति पनि समान छ, गणितको जस्तो क्यालकुलेटर गर्न सक्दैनौं कोरोनाको समय छ बढ्न पनि सक्छ र घट्न पनि सक्छ तर जनताको जतिनै चाप परेता पनि उहाहरुलाई निराश गर्ने छैनौं। पुग्दो मात्रामा खाद्यान छ,' विगतको कुरा स्मरण गर्दै उनले भने, ‘विगतमा हामीसँग ७ हजारदेखि लिएर १२ हजार क्वीन्टल परिणाममा खाद्य सामाग्री खपत भएको थियो।' खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडबाट खाद्यान नपाएर खाली हात फर्किनु त प्रश्नै नउठ्ने उनको दाबी छ।

‘आम उपभोक्तालाई स्टलबाट मात्र नभएर आफ्नो घरदैलोमा समान पुर्‍याउन  कम्पनि प्रतिवद्द छ। हामीले उहाँहरूलाई घरदैलोमा अनलाइनमार्फत ई-पेमेट गर्नुभयो भने सो अनुसार हामी उहाँहरूको घरघरमा समान पुर्‍याइदिनेछौं र सफलता पनि पाएका छौं,' उनले भने। 

अहिलेको अवस्थामा समान किनबेच गर्ने क्रममा सामाजिक दुरी कायम गरी सबै कर्मचारीलाई सुरक्षित रूपमा व्यवस्थापनमा सहयोग गर्न आम उपभोक्तलाई उनले आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-10-05 13:50:00

प्रतिकृया दिनुहोस्