लोकतन्त्र जोगाउन कुर्सी भाँचेको हुँ, कुनै पछुतो छैन : वसीउद्दिन खाँ

अक्षर काका

काठमाडौं

नेपाली कांग्रेसका पाँच नम्बर प्रदेशसभा सदस्य वसीउद्दिन खाँले लोकतन्त्र बचाउन, संसदीय मर्यादा कायम राख्‍न तोडफोडमै उत्रनु परेको प्रतिक्रिया दिएका छन् ।

खाँले सोमबार दिउँसो प्रदेश पाँचको संसद् बैठक सुरु हुनेबित्तिकै उठेर कुर्सी, टेबल तोडफोड सुरु गरेका थिए । उनले अमर्यादित, अराजक गतिविधिको गरेको भन्दै विरोध–निन्दा भइरहेको छ । संसदीय गरिमाको मानमर्दन भएको टिप्पणी भइरहेको छ ।

तर, उनले आफ्नो बचाउ गरेका छन् । बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै खाँले प्रदेश सरकारले दुई तिहाइको दम्भ देखाउँदै प्रदेशको स्थायी मुकाम र नामाकरणको प्रस्ताव अघि सारेपछि आफू निरुपाय भएको प्रतिक्रिया दिए । 

“तोडफोड सिर्जना गरेको सरकारले हो । सरकार र सभामुख साझा हो । सभामुखले प्रमुख प्रतिपक्षीको कुरै नसुन्दिने गर्नुभयो । हामी नेपाली कांग्रेसलगायत जसपाका दुईजना सांसदले विरोध जनाएका थियौं । जुन प्रक्रियाबाट सरकारले प्रस्ताव पेस गर्‍यो । यसलाई चोरबाटो भन्नुपर्छ । कार्यव्यवस्था परामर्श समितिमा नल्याई जानकारी पनि नदिई, सूचना पनि नदिई एक्कासी प्रस्ताव ल्याएपछि विरोध जनाएको हो ।”

उनले संसदले बनाएको उच्चस्तरीय समितिको प्रतिवेदन पेस नगरी हठात् स्थायी मुकाम तोक्ने प्रस्ताव ल्याएपछि बुटवलबासी जनताको आवाज बोलेको पनि बताए ।

प्रकाशित मिति: : 2020-10-05 23:56:45

प्रतिकृया दिनुहोस्