ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बीओपी स्थापना

ताप्लेजुङको फक्तालुङ्ग गाउँपालिका-७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, गृह मन्त्रालयका उपसचिब भुपेन्द्र सापकोटालगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थितिमा बुधवार बीओपीको उद्घाटन गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म ताप्लेजुङ मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारबाहीहरुमा परिचालित हुने बताइएको छ। सीमा भन्दा १२ किलोमिटर वर कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको उक्त बीओपीले बुधवारबाटै दैनिक कार्य शुरु गरेको छ।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोबस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको उक्त टोली यही असोज १८ गते बेलुका त्यसठाउँमा पुगेको हो। यसैगरी बुधवार नै संखुवासभाको किमाथांकामा पहिले नै स्थापना भएको बीओपीको नयाँ निर्माण हुने भवनको शिलान्यास समेत गरिएको छ।

प्रकाशित मिति: : 2020-10-07 22:53:41

प्रतिकृया दिनुहोस्