लकडाउनमा २६ किलोमिटर सडक कालोपत्रे 

कोरोना सङ्क्रमण र लकडाउनका बाबजुद आर्थिक वर्ष २०७६÷०७७ मा सप्तरी र सिरहाका २६ किलोमिटर सडक कालोपत्रे भएको छ । 
लकडाउनकै बीच आर्थिक वर्ष २०७६÷०७७ मा सिरहाको १२ र सप्तरीका १४ किमी सडक कालोपत्रे भएको सडक डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ। 
सिरहाको लहान–भगवानपुर ठाडी सडकमा साढे पाँच किमी, बन्दीपुर–उत्तराइनी सडकमा एक हजार ६०० मिटर, कर्जन्हा–बस्तीपुर सडकमा एक हजार २०० मिटर, हुलाकी सडकअन्तर्गत गणेशपुर चौकदेखि गोलबजारसम्मको ९५० मिटर, कसहा–औरही सडकमा ९०० मिटर र कसहा–

मुक्सार सडकमा ५०० मिटर कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख रविन्द्रलाल दासले जानकारी दिए।   
 यस्तै सप्तरीको शम्भुनाथ ट्राफिक चौक–बनैनियाँ सडकमा आठ किमी, रुपनी–कटैया सडकमा तीन किमी, रुपनगर चौकदेखि कञ्चनपुर सडकमा एक हजार ३०० मिटर र बरमझिया पूर्व सडकमा ८०० मिटर सडक कालोपत्रे गरिएको प्रमुख दासले बताए। 
सिरहा, सप्तरी र उदयपुरमा करिब ३५ किमी सडक स्तरोन्नति तथा निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ। 
त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा सिरहा र सप्तरीमा दुई वटा पुल निर्माण भएको छ । सिरहाको मुतनी खोलामा र सप्तरीको जुरी नदीमा पुल निर्माण भएको छ । ती दुवै जिल्लामा हाल २० वटा पुल निर्माणाधीन अवस्थामा छ । सिरहामा नौ र सप्तरीमा ११ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र अधिकांश पुलको कार्य तीव्ररुपमा भइरहेको प्रमुख दासको भनाइ छ।     
यसैबीच सम्झौतानुसार समयमा काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनिमाथि सडक डिभिजन कार्यालय लहान सिरहाले कारवाही अघि बढाएको छ। सिरहा र सप्तरीमा विभिन्न १२ योजनाको सम्झौता गरेर पनि लामो समयसम्म काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनिमाथि कारवाही अघि बढाइएको छ।

बजगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँ, बजगुरु विकास जेभी लहान, स्काइ लाइन कन्स्ट्रक्सन जनकपुर, निलगिरी निर्माण सेवा काठमाडौँ, याकधुम्ह्याङ्गर बीपी कन्स्ट्रक्सन जेभी लहान, प्रकाशरआश्रय जेभी काठमाडौँ, रोशन कन्स्ट्रक्सन प्रा।लि। जनकपुर र जोशी कन्स्ट्रसन गाठाघर काठमाडौँमाथि कारवाही अघि बढाएको प्रमुख दासले जानकारी दिए। पहिलो चरणमा ती कम्पनीलाई स्पष्टीकरण सोधिएको र सन्तोषजनक जवाफ नआए कानुनी रुपमा कार्वाही अघि बढाइने प्रमुख दासले बताए।    
     

प्रकाशित मिति: : 2020-10-08 15:13:24

प्रतिकृया दिनुहोस्