हैदराबादसँग पञ्जाबको फराकिलो हार, हैदारावाद शीर्ष तीनमा उक्लियो

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा हैदराबादले किंग्स इलाभेन पञ्जाबलाई ६९ रनले पराजित गरेको हो।

२०२ रनको ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले १६.५ ओभरमा सबै विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो। पञ्जाबका लागि निकोलस पुरनले उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा सात छक्का र पाँच चौकाको मद्दतमा ७७ रन बनाए। तर अन्य ब्याट्सम्यान सस्तैमा समेटिदा पञ्जाबले फराकिलो हार ब्यहोरेको हो। यसअघिका खेलमा कप्तान केएल राहुल र मयंक अग्रवालको जोडीले ओपनिङमा राम्रो प्रदर्शन गर्दै आएको थियो। तर हैदराबादविरुद्धको खेलमा भने दुबै खेलाडीले समान ११–११ रन मात्रै बनाए। पञ्जाबका तीन खेलाडीले मात्रै दोहोरो अंक बनाए। पञ्जाबलाई सस्तैमा समेट्न राशिद खानले तीन विकेट लिए।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। हैदराबादको लागि कप्तान डेभिड वार्नर र जोनी बैरस्टोवले उत्कृष्ट प्रदर्शन गरे। जोनीले ५५ बलमा सात चौका र ६ छक्का प्रहार गर्दै ९७ रन बनाए। त्यस्तै, कप्तान वार्नरले ४० बलमा ५२ रनको योगदान दिए। पहिलो विकेटका लागि वार्नर र जोनीले १६० रनको विशाल साझेदारी गरेका थिए। हैदराबादका लागि केन विलियम्सनले अविजित २० र अभिषेक शर्माले १२ रन बनाए। बलिङतर्फ पञ्जाबका रवि विष्नोईले तीन र अर्शदीप सिंहले दुई विकेट लिए।

यो जितसँगै हैदराबाद लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। ६ खेल खेलेको हैदराबादले तीन खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ। पराजित पञ्जाबले भने खेलको ६ खेलमध्ये पाँच खेलमा हार ब्यहोरको छ भने एक खेलमा मात्रै जित निकालेको छ। पञ्जाब दुई अंक बनाएर लिगको पुछारमा हुँदा शीर्ष स्थानमा भने मुम्बई इन्डियन्स र दोस्रो स्थानमा दिल्ली क्यापिटल्स रहेको छ।

प्रकाशित मिति: : 2020-10-09 00:06:57

प्रतिकृया दिनुहोस्