पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुने

रासस

भरतपुर 

चितवनको माडी नगरपालिकामा पाँचतले भ्यूटावर निर्माण हुने भएको छ। माडी नगरपालिका–६ लक्ष्मीबासको पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुन लागेको हो। रु दुई करोड लागतमा पुष्पमदन बाटिकाभित्र बन्ने उद्यानको डिपिआर तयार भएको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए। 

स्व नेता पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा निर्माण गरिएको बाटिकामा होटलसहितको भ्यूटावर, बालउद्यान, एकतास्तम्भ, पुष्पलाल र भण्डारीको शालिक, वनभोजस्थल र सभाहल रहने उनले बताए। टावरबाट माडी नगरपालिकाका महत्वपूर्ण दृश्यसहित भरतपुरको गोलालघाटसम्मका दृश्य हेर्न सकिने गरी डिपिआर तयार गरिएको छ।

पुष्पमदन बाटिका सञ्चालन समितिका उपाध्यक्ष श्री दवाडीका अनुसार भ्यूटावरलाई स्थानीय समुदायले नै सञ्चालन गर्ने तयारी गरिएको छ। कम्युनिटी जङ्गल लज नाम दिइएको सो टावर पाँच तलाको हुनेछ। टावरको माथिल्लो तलामा दूरबिन राखिएको हुनेछ भने प्रत्येक तलामा पर्यटकले दृश्यावलोकन गर्दै खाना खान सक्नेछन्। 

उपाध्यक्ष दवाडीले रु दुई करोड लागतमा बन्ने टावर अबको पाँच वर्षभित्रमा सञ्चालनमा ल्याउने योजना रहेको बताए। उनले अहिले समिति सभाहल निर्माणको काममा लागिरहेको बताए। पुष्पमदन बाटिकालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन प्रदेश सरकारले गत वर्ष रु एक करोड र यस वर्ष रु ४० लाख तथा सङ्घीय सरकारले रु १० लाख बजेट विनियोजन गरेको छ।

प्रकाशित मिति: : 2020-10-09 08:19:29

प्रतिकृया दिनुहोस्