पर्सामा बली निषेध

यस वर्षको दसैं–तिहारमा पर्साका विभिन्न शक्तिपीठमा बली निषेध गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले धार्मिकस्थलमा चाडपर्वका बेला कुनै पनि मेला, महोत्सव गर्नसमेत रोक लगाएको हो। 

कोरोना संक्रमणका कारण यसपालि कुनै पनि शक्तिपीठहरुमा बली दिने तथा मेला र सामूहिक पूजा हुने छैनन्। खासगरी वीरगन्जको माइस्थान मन्दिरमा बली चढाइन्छ। त्यस्तै दसैका बेलामा  वीरगन्जमा भब्य मेलासमेत लाग्दै आएको छ। 

जिल्ला सुरक्षा समितिको बसेको बैठकले गहवामाई, बिन्दवासिनी, विर्तामाई, नगवालगायतका धार्मिक स्थलमा बली र सामूहिक पूजा कार्यक्रमहरू निषेध गरेको हो।

बैठकले दसैंमा पूजा पाठ तथा बली दिने जस्ता क्रियाकलाप घरमै गर्न भनेको छ। 

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले सार्र्वजनिक स्थान, खुला मैदान, सडक लगायतका क्षेत्रमा दुर्गा–झाँकी तथा पण्डाल बनाउन पनि निषेध गरेको छ। 

वीरगन्जको मुख्य बजार क्षेत्रमा फूलपातीदेखि सवारी साधन सञ्चालनमा रोक लगाउन सकिने निर्णयसमेत भनएका प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए। 

विभिन्न शक्तिपीठ तथा मठमन्दिरमा व्यापक सुरक्षाकर्मी परिचालन हुनेछन्। 

प्रकाशित मिति: : 2020-10-09 14:13:15

प्रतिकृया दिनुहोस्