जापानले नोभेम्बरदेखि १२ देशबाट यात्रा अनुमति दिने

एजेन्सी

टोकियो

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ ।कोरोना भाइरसको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो ।  

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत छन् ।

सरकारले अत्यावश्यक काम परेका र आउनै पर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो । जापानले अहिले विश्वका १५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । 

जापान आउनुअघि यात्रुहरुले कोरोना परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनु पर्नेछ । त्यसैगरी उनीहरुलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेसनमा बस्नु पर्ने र त्यस अवधिमा सार्वजनिक यातायातका साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । यो नियमहरुको कार्यान्वयनको जिम्मेवारी आगन्तुकलाई 'स्पोन्सर' गर्ने व्यक्ति वा कम्पनीले लिनु पर्ने शर्त पनि राखिएको छ । 

शुरुमा दैनिक एक हजार जना विदेशीलाई मात्रै आउन दिने जापान सरकारको योजना छ । यो संख्या विस्तारै वृद्धि गरिँदै लैजाने अधिकारीहरुले जनाएका छन् । 

प्रकाशित मिति: : 2020-10-09 14:15:01

प्रतिकृया दिनुहोस्