किर्गिस्तानमा संसदबाट छानिएका प्रधानमन्त्रीलाई राष्ट्रपतिले गरे अस्वीकार

एजेन्सी

काठमाडाैं

 किर्गिस्तानका राष्ट्रपतिले नवनियुक्त प्रधानमन्त्रीलाई अस्वीकार गरेका छन्। 

राष्ट्रपति सूरोनबे जीनबेकोभले संसदबाट प्रधानमन्त्रीका लागि छानिएका सडीर जपारोभलाई अस्वीकार गरेका हुन्। जपारोभ राष्ट्रवादी नेताको रुपमा चिनिन्छन्।

गत शनिबार किर्गिस्तानको संसदले जपारोभलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा चयन गरेको थियो। 

मंगलबार राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्ति आफूले स्वीकृत नगर्ने बताएका थिए।

गत अक्टोबर ४ मा भएको विवादित संसदीय निर्वाचनपछि अहिले किर्गिस्तानमा राजनीतिक संकट चुलिएको छ।

अपहरणको मुद्दामा जेल सजाय भुक्तान गरिरहेका जपारोभ गत साता अन्य राजनीतिक नेताहरुसँग छुटेका हुन्।
 
मानिसहरुले जीनबेकोभको राजीनामा र नयाँ निर्वाचनको माग गरेका थिए। प्रदर्शनकारीहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन्। 

किर्गिस्तानमा आन्दोलन सुरु भएपछि अहिलेसम्म एक हजार दुई सयभन्दा धेरै मानिसहरु घाइते भइसकेका छन् भने आन्दोलनको क्रममा एकजनाको मृत्यु भएको छ। अहिले मुलुकभर आपतकालको घोषणा गरिएको छ।

बुधबार संसदमा पुनः भएको निर्वाचनमा जपारोभलाई नै प्रधानमन्त्रीको रुपमा निर्वाचित गरिएको छ।

प्रकाशित मिति: : 2020-10-14 14:23:00

प्रतिकृया दिनुहोस्