मन्दिर खोल्न भाजपाको माग, शिवसेना भन्छ– हाम्रो मनमा पनि हिन्दुत्व छ

एजेन्सी

मुम्बई
बन्द रहेका मन्दिर खुलाउन माग
बन्द रहेका मन्दिर खुलाउन माग

महाराष्ट्र राज्यमा भारतीय जनता पार्टी र शिव सेना बीच मन्दिर राजनीति सुरू भएको छ। कोरोनाका कहरले भारतका बिभिन्न धार्मिकस्थलहरु लामो समयदेखि बन्द गरिएको छ। लामो बन्दाबन्दीले धार्मिक यात्रीहरु मन्दिरहरुमा पुग्न सकेका छैनन्।

भारतमा कोरोना संक्रमणको अवस्था भयावह छ। यस्तो समयमा महाराष्ट्र राज्य सरकारलाई मन्दिर खोल्नुपर्ने चौतर्फी दबाब बढिरहेको छ। भाजपा कार्यकर्ताले सिद्धिविनायक मन्दिर खोल्न माग गर्दै प्रदर्शन गरेका छन्। यो सँगै राज्यका राज्यपाल भगतसिंह कोश्यारीले समेत मुख्यमन्त्री उद्धव ठाकरेलाई बन्द गरिएका मन्दिरहरु खोल्ने सम्बन्धमा पत्र पठाएका छन्।

राज्यपाल कोश्यारीले मुख्यमन्त्री ठाकरेलाई पठाएको पत्रमा शिव सेना धर्मनिरपेक्ष लेखेपछि दुई हिन्दुवादी राजनीतिक पार्टीबीच जुहारी चलेको छ। राज्यपालको पत्रमा मुख्यमन्त्री ठाकरेले लकडाउन सही नभएपनि अहिले पूर्ण रुपमा रद्द गर्ने तर्क उचित नभएको प्रतिकृया दिएका छन्।

राज्यपाल कोश्यारीले पदको मर्यादा भुलेर बेला–बेला महाराष्ट्रमा राजनीति गर्न खोजेको शिव सेनाका नेताहरुले आरोप लगाउँने गरेका छन्। यसैबीच शिव सेना सांसद सन्जय राउतले मन्दिर खोल्ने कुरामा राष्ट्रिय नीति बनाउनुपर्ने भनाई राखेका छन्। उनले राज्यपालको पछिल्लो कदमलाई जवाफ दिएको मुम्बई राजनीतिक वृत्तमा बहस छ। प्रधानमन्त्री नरेन्द्र मोदीले खुल्ला रुपमा मन्दिर खोल्न भनेकै रातीदेखि महाराष्ट्र सरकार मन्दिर खोल्न तयार रहेको उनले बताएका छन्।

चर्को बोलीका कारण बेला–बेला बिवादमा आउँने सांसद राउतले आफुहरु मन्दिरहरू बन्द राख्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनले संविधान, प्रधानमन्त्री, राष्ट्रपति र राज्यपाल पनि धर्मनिरपेक्ष भएको स्मरण गरे। उनी भन्छन्– हिन्दुत्व हाम्रो हृदय र व्यवहारमा छ। तर, देशले एउटा त्यस्तो संविधान अनुसरण गरेको छ। जो धर्मनिरपेक्ष छ।

मन्दिर खोल्ने बारे भाजपाले महाराष्ट्रमा प्रदर्शन गरेको दृश्यलाई महामारीमा पनि राजनीति गर्न खोजेको सेनाको आरोप छ। सेनाले कोरोनाका कारण बन्द गरिएका तीर्थस्थलहरूको खोल्न राज्यपालले गरेको आग्रह पनि भाजपा एजेण्डाका रुपमा बुझेको छ।

प्रकाशित मिति: : 2020-10-16 14:00:00

प्रतिकृया दिनुहोस्