ट्रम्पलाई कोरोना घाँडो, वाइडेनलाई कोरोना मुद्दा

संजोग आचार्य

न्युयोर्क
राष्ट्रपति चुनाव
कोरोना भाइरसको कारण दोस्रो ‘प्रेसिडेन्सिय डिबेट’ रद्द भएपनि शुक्रबार राष्ट्रपतिका दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो वाइडेनले टाउन हलमा भाग लिएका छन्।

कोरोना भाइरसको कारण दोस्रो ‘प्रेसिडेन्सिय डिबेट’ रद्द भएपनि शुक्रबार राष्ट्रपतिका दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो वाइडेनले टाउन हलमा भाग लिएका छन्। आसन्न राष्ट्रपति चुनावलाई मध्यनजर गर्दै भएको टेलिभिजन कार्यक्रमको भिन्दा भिन्दै च्यानलले प्रसारण गरेका थिए। 

दोस्रो कार्यकालका लागि उठेका राष्ट्रपति ट्रम्प शुक्रबार पनि आक्रामक देखिए। तर, उनले आफूमाथि तेर्सिएको कडा प्रश्नलाई भने वेवास्था गरेका थिए। डेमोक्रेट उम्मेदवार जो वाइडेन भने केही प्रश्नमा रक्षात्मक तथा केहीमा आत्मविश्वासी देखिए।  

अमेरिकामा राष्ट्रपतिको चुनावभन्दा अगाडि तीन वटा ‘प्रेसिडेन्सियल डिबेट’ गर्ने चलन छ। जसअन्तर्गत २९ सेप्टेम्बरमा पहिलो डिबेट भएको थियो। दोस्रो डिबेट १५ अक्टुबरमा हुने भनिएपनि बीचमा अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना पोजेटिभ देखिएपछि स्थगित गर्नु परेको थियो। 

तेस्रो तथा अन्तिम डिबेट २२ अक्टुबरमा हुदैछ। यस विषयमा कुनै निर्णय भएको छैन। 

‘प्रेसिडेन्सियल डिबेट’ को विकल्पको रूपमा मियामीको टाउन हलमा भएको छुट्टा–छुट्टै टेलिभिजन कार्यक्रममा ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई फेरि जोडतोडका साथ राख्ने प्रयास गरें। यस अवसरमा उनले आफ्नो पहिलो चार वर्षे कार्यकालमा गरेको कामको सूची जनतालाई स्पष्ट पार्ने प्रयास गरें। 

कोरोना संक्रमणका कारण चुनावको नतिजामा पर्ने असरको विषयमा ट्रम्प केही चिन्तित देखिन्थे। त्यसैले उनले छिट्टै कोरोना भाइरसको भ्याक्सिन तयार हुने आश्वासन दिए। उनले टेलिभिजन कार्यक्रममा पनि कोरोना ‘चिनियाँ प्लेग’ भएको बताउन भूलेनन्। उनले ‘चिनियाँ प्लेग’ विरूद्ध आफूहरू बलियोसँग लडिरहेको बताए। 

राष्ट्रपति ट्रम्पले कोरोनाका कारण विश्वको अर्थतन्त्रमा ठूलो असर परेको बेला अमेरिकाले आफ्नो अर्थतन्त्रलाई सुरक्षित राखेको बताए। ‘हाम्रो अर्थतन्त्र अझैं बलियो छ,’ उनले कार्यक्रममा आफ्नो सरकारको तारिफ गरें। 

उनले भ्याक्सिन कहिलेसम्म बजारमा आउँछ भन्ने स्पष्ट पार्न चाहेनन्। अमेरिकामा कोरोनाका कारण २ लाख १५ हजार मानिसको निधन भइसकेको छ। बिहीबार मात्र यहाँ ६० हजार नयाँ संक्रमित फेला परेका थिए। जसमा १ हजार मान्छेको ज्यान गएको थियो। युरोपदेखि अमेरिकासम्म अहिले कोरोनाको दोस्रो चरणको संक्रमण फैलिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताइरहेको छ। 

करिब एक घण्टा लामो कार्यक्रममा ट्रम्पले मास्कको विषयमा कुनै उत्तर दिएनन्। उनले ओबामा केयर हटाउने आफ्नो निर्णयको आत्मरक्षा गरें। तर उनले यसको सट्टा अर्को कुन कानुनलाई लागु गर्न लागिएको हो, यसको जानकारी दिएनन्। यस्तै, इमिग्रेसन कानुनको विषयमा पनि खासै चर्चा गरेनन्। गर्भपतनसम्बन्धि कानुनको विषयमा पनि धेरै कुरा गर्न चाहेनन्। 

तर, उनले कोरोना कालमा आफूले अमेरिकी इतिहासमै आफ्नो नागरिकलाई करमा छुट दिएको, नयाँ रोजगारी सिर्जना गरेको र ‘अमेरिका फर्स्ट’ को नारालाई बुलन्द पारेको बताए। उनले अमेरिकी नागरिकको भविष्यका लागि आफूले काम गरेको बताउन भूलेनन्। 

वाइडेनले पर्यावरण, लिंग परिवर्तन, सर्वोच्च अदालतमा न्यायाधीस नियुक्ति, कोरोना भाइरस जस्ता मुद्धाहरूमा ट्रम्पलाई घेर्न खोजे। उनले पर्यावरण र अमेरिकाको सिधा सम्बन्ध भएको बताए। ट्रम्पले आफ्नो कार्यकालमा पेरिस सम्झौंतालाई रद्द गरेका थिए। 

यस्तै, वाइडेनले लिंग परिवर्तन गरेपनि ट्रान्सजेन्डर आफ्नो देशको नागरिक भएको हुनाले अरु जस्तै उनीहरूलाई पनि समान अधिकार दिनुपर्ने कुराको वकालत गरें। निर्वाचन हुन तीन साताको समय बचेको अवस्थामा न्यायाधीस न्युक्ति गर्नु राम्रो नभएको उनको भनाई थियो। उनले नयाँ सरकार नियुक्त भएपछि न्यायाधीस नियुक्त गर्दा के नै बिग्रिने भन्दै ट्रम्पको निर्णयको विरोध गरेका थिए। 

ट्रम्पले हालै सर्वोच्च अदालतमा न्यायाधीस नियुक्तिको सिफारिस गरेका थिए। वाइडेनले कोरोना भाइरसलाई नियन्त्रणमा राख्न नसक्नु ट्रम्पको सबैभन्दा ठूलो विफलता भएको बताए। उनले भ्याक्सिन निर्माण भए आफूलाई लगाउन कुनै आपत्ति नभएको स्पष्ट पार्न खोजे। यसअघि ट्रम्पले भ्याक्सिनको विषयमा आरोप लगाएका थिए कि वाइडेन छिटो भ्याक्सिन बनोस् भन्ने चाहँदैनन्।  

प्रकाशित मिति: : 2020-10-16 18:38:00

प्रतिकृया दिनुहोस्