आत्मघाती गोलले डुबायाे टोटेनहमलाई, वेस्टह्यामसँग बराबरीमा राेकियाे

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा भएको खेलमा टोटेनहमले वेस्टह्याम युनाईटेडसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।

टोटेनहमले पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो।

टोटेनहमका लागि ह्यारी केनले दुई तथा सन ह्युङ मिनले एक गोल गरे।

वेस्टह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एक एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो।

खेलको पहिलो मिनेटमै सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए।

 केनले आठौं मिनेटमा गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए।

खेलको १६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहम पहिलो हाफमा ३-० ले अघि रह्यो।

तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो। ८२ औं मिनेटमा फाबियनले गोल गर्दै वेस्टह्यामलाई ३-१ को स्थितिमा ल्याए।

८५ औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३-२ भयो।

त्यसपछि खेलको ९० औं मिनेटमा मानुएलले गोल गर्दै खेल ३-३ को बराबरी गर्दै वेस्टह्यामलाई हारबाट जोगाए।

बराबरीसँगै टोटेनहमले ५ खेलमा ८ अंक जोडेको छ। टोटेनहम तालिकाको छैटौं स्थानमा रहेको छ।

वेस्टह्याम भने आठौं स्थानमा रहेको छ। वेस्टह्यामले ५ खेलमा ७ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-10-19 06:20:00

प्रतिकृया दिनुहोस्