कोरोनाबाट ज्यान गुमाउनेमा ५० वर्षभन्दा माथिका धेरै

बाह्रखरी

काठमाडाैं

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ जना पुगेको छ । कोरोना कारण ज्यान गुमाउनेमा नेपालमा ५० वर्षभन्दा माथि उमेर समूहका धेरै छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार बेलुकासम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सबैभन्दा बढी ५० वर्षभन्दा माथिका उमेर समुहका ५१८ जनाको मृत्यु भएको छ । जुन कुल कोरोनाका कारण मृत्यु भएका संक्रमितको ६८.४३ प्रतिशत हो । सोही उमेर समूहका पनि ६१ देखि ७० वर्ष उमेर समूहका १७६ जनाले कोरोनाका कारण ज्यान गुमाएको देखिन्छ । जुन ५० वर्षभन्दा माथिका उमेर समूहकै कोरोनाका कारण सबै बढी मृत्यु हुने उमेर समूह हो । 

यसैगरी, मन्त्रालयकै तथ्यांकअनुसार २० देखि ५० वर्ष उमेर समूहका मृत्यु हुनेको संख्या २२३ जना छ । जुन कुल मृत्युको २९.४६ प्रतिशत हो । उक्त उमेर समूहका पनि ४१ देखि ५० वर्ष उमेरका सबैभन्दा बढी १०३ जना छन् ।

कोरोना संक्रमणका कारण बालबालिको पनि मृत्यु भएको छ । ४९ दिनको शिशु देखि १८ वर्ष उमेर समूहका १६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । जुन कुल मृत्युको २.१२ प्रतिशत हो ।

प्रकाशित मिति: : 2020-10-20 15:13:00

प्रतिकृया दिनुहोस्