अमेरिकी चुनावः चार करोडभन्दा बढीले खसाले अग्रिम मत

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकामा यो पटकको चुनावमा चार करोडभन्दा बढी मतदाताले आफ्नो मत खसाली सकेको बताइएको छ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावमा हालका रिपब्लिकन राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आम्नेसाम्ने हुँदैछन्।

सन् २०१६ को चुनावमा १३ करोड ६० लाख मत खसेको थियो। अहिलेसम्म खसेको मत त्यसको झण्डै ३० प्रतिशत हो।

चुनावका लागि दुई हप्ताभन्दा कम समय रहेका बेला ४७ राज्य र डिसीबाट प्राप्त भएको तथ्यांक अनुसार हुलाक वा अग्रिम मतदान स्थलमा गएर भोट हाल्नेको संख्या विगतको भन्दा धेरै पुगिसकेको देखिएको छ।

पछिल्ला मत सर्वेक्षणमा पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडन अघि देखिएका छन्। यद्यपि,  चुनावी नतिजाका लागि निर्णायक मानिने केही ब्याटलग्राउण्ड राज्यमा भने उनको अग्रता साँघुरो छ।

ट्रम्प कोरोनाका बाबजुद पनि  भिडभाडयुक्त चुनावी सभा गरिरहेका छन्। तर, बाइडन भने ससाना सभा र व्यक्तिगत भेटघाटमा बढी खटिएका छन्। 

यसैबीच बाइडेनको चुनावी अभियानमा पूर्व राष्ट्रपति बराक ओबामा सहभागी हुन थालेका छन्। उनले बुधबार ब्याटलग्राउण्ड राज्य पेन्सेल्भेनियाको फिलाडेल्फियामा आयोजित चुनावी सभालाई सम्बोधन गरे। 

उनले आफ्ना उत्तराधिकारी राष्ट्रपति ट्रम्पको धज्जी उडाउँदै उनले अमेरिकी क्यारेक्टरको अवमूलयन गरेको आरोप लगाएका थिए।
 

प्रकाशित मिति: : 2020-10-22 05:13:00

प्रतिकृया दिनुहोस्