ट्रम्पले गरे वाइडेनलाई बधाई दिन अस्वीकार

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति निर्वाचन पराजित भएका डोनाल्ड ट्रम्पले जो वाइडेनलाई बधाई दिन अस्वीकार गरेका छन्।

डेमोक्र्याटिक उम्मेदवार वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएपनि उनले त्यसलाई अस्वीकार गरेका हुन्। 

एकता र सम्भावको सन्देशसहित चुनाव लडेका वाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ। तर उनले त्यो आँकडा पार गरेका हुन्। 

वाइडेनले चार वर्षअघिको चुनावमा डेमोक्र्याटले गुमाएका राज्यहरुमा जित हाँसिल गरेका छन्।

अमेरिकाको इतिहासमा वाइडेन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने पहिलो व्यक्ति बनेका छन्। उनले सात करोड ४५ लाख भन्दा बढि मत पाएका छन्।

यद्यपी अहिले पनि चार राज्यमा मतगणना जारी छ। ५३८ इलेक्टोलर कलेज मत मध्ये २७९ इलेक्टोलर कलेज मत पाएका छन् वाइडेनले। ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत छ।

११ तथा १६ इलेक्टोरल कलेज मत रहेको एरिजोना र जर्जियामा वाइडेन अघि छन्। ३ तथा १५ इलेक्टोरल कलेज मत रहेको अलास्का र नर्थ क्यारोलाइनामा ट्रम्प अघि छन्। 

उनले लामो समयदेखि रिपब्लिकनको पडक रहँदै आएको एरिजोना र जर्जियामा पनि जित हाँसिल गर्ने सम्भावना कायम राखेका छन्। 

उनले चार वर्षअघि गुमेका विस्कनसिन, मिसिगन र पेन्सिलभेनियामा जित हाँसिल गरिसकेका छन्।

तर ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। त्यसको कुनै पनि प्रमाण भने अहिलेसम्म भेटिएको छैन।

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर तीनमा मतदान भएको थियो। कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए।

वाइडेन विजयी हुने निश्चित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपना टुंगिएको छ। दोस्रो विश्वयुद्ध यता दोस्रो कार्यकालका लागि निर्वाचित नहुने ट्रम्प तेस्रो राष्ट्रपति हुन्।

आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिएका छन्। 

तेस्रो प्रयासमा सफल वाइडेन

४८ वर्ष पहिले डेलवरबाट सिनेट सिटमा विजयी भएको वाइडेन अहिले राष्ट्रपति निर्वाचित भएका हुन्। उनी तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उनी अमेरिकाको इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यक्ति बन्दै छन्। 

अमेरिकी इतिहासमा नयाँ अध्याय सुरु

जो वाइडेन रातो पर्खाल भत्काउदै निलो पर्खाल बनाएका छन्। उनी राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेश गर्दै छन्।

सन् २००८ देखि २०१६ सम्म पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामको साथमा उपराष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका वाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन्। 

ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन्।

त्यससँगै उनका समर्थकहरुले अमेरिकाभर उत्सव मनाउन थालेका छन्।

राष्ट्रपतिमा निर्वाचित भएका वाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्ने छन्। उपराष्ट्रपतिमा निर्वाचित कमलाले पनि सम्बोधन गर्ने छिन्।

वाइडेनको जितसँगै अमेरिकाको इतिहासमा नयाँ अध्याय सुरु भएको उनका समर्थकले बताएका छन्। उनीहरुले देश एकीकरणको मार्गमा अघि बढ्ने अपेक्षा राखेका छन्।

वाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्व राष्ट्रपति बाराक ओबामा, हाउस अफ रिप्रिजेनटेटिभकी सभामुख न्यान्सी पेलोसी, सिनेटका माइनोरिटी लिडर चक सुमरसहितका नेतासँग टेलिफोन वार्ता गरेको छन्।

प्रकाशित मिति: : 2020-11-08 06:33:00

प्रतिकृया दिनुहोस्