वाइडेन जितको पाँच रहस्य

संजोग आचार्य

न्यूयाेर्क

अमेरिकी राजनीतिमा ५० वर्ष बिताएका जो वाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि उनको सफलताको कारणको खोजी भइरहेको छ। वाइडेन अमेरिकाको सबैभन्दा पाको राष्ट्रपति बन्न सफल भएका छन्। ७७ वर्षीय वाइडेनलाई यसअघि कमजोर उम्मेदवार मानिएको थियो। तर, उनले इतिहास रचेर देखाए। 

उनको सफलताको कथालाई अमेरिकी मिडियाले विभिन्न कोणले ब्याख्या गर्न थालेका छन्। तर, मुख्य पाँच कारणले उनको जित सम्भव भएको तथ्य बाहिर आएको छ। ती तथ्यहरू यस प्रकार छन्। 

कोरोना महामारी

कोरोना संक्रमणको महामारीलाई चिनियाँ भाइरस भनेर उपेक्षा गरेका डोनाल्ड ट्रम्पले आखिर त्यही कारण पराजय भोग्नु पर्‍यो। विज्ञ चिकित्सकको सल्लाह विपरित ट्रम्पले अमेरिकी जनतालाई मास्क प्रयोग नगर्न प्रोत्साहित गरिरहे। 

कोरोनालाई लिएर सावधानी नअपनाउँदा अमेरिका यो महामारीबाट सबैभन्दा बढी प्रभावित बन्न पुग्यो। दुई लाख ३० हजारभन्दा बढी मानिसको निधन भयो। सुरुको दिन कोरोनालाई खासै महत्व नदिएका ट्रम्पले चुनाव नजिकिँदै जाँदा अमेरिकी जनजीवनमा यसले पारेको प्रभावलाई स्विकार्न बाध्य भए। 

ट्रम्पले जहाँ चुनावी र्‍यालीको आयोजना गरे, त्यहाँ कोरोनाको प्रभाव ह्वात्त बढ्यो। चुनावको दिन नै अमेरिकामा कोरोना संक्रमणको घटना २४ घण्टाभित्र १ लाखभन्दा बढी भयो। 

कोरोनालाई लिएर अमेरिकी मिडियाले निकै चिन्ता जनाए। तर, ट्रम्पले मिडियाले ‘स्क्याण्डल’ गर्न खोजेको भनेर यसलाई अस्विकार गरे। 

चुनावभन्दा अगाडि भएको एउटा रिसर्चमा अमेरिकी जनताले कोरोनासँग लड्ने मुद्धामा ट्रम्पभन्दा बढी वाइडेनलाई विश्वास गरेको देखिएको थियो। यो रिसर्चले अमेरिकी चुनावको नतिजालाई पहिल्यै नै औंल्याउन सफल भएको थियो। 

महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा परेको समस्याले गर्दा अमेरिकी जनताले उनको समृद्धिको मुद्धालाई खासै चासो दिएनन्। 

प्रभावकारी चुनावी अभियान

आफ्नो राजनीतिक करिअरमा थुप्रै पल्ट अफ्ठेरो अवस्थासँग जुधेका वाइडेनले अविचलित हुँदै चुनावी अभियानलाई चलाएका थिए। सन् १९८७ मा एउटा झुटो कुरा गरेका कारण राष्ट्रपति बन्ने अभियानमा गम्भीर क्रृटी भएको थियो। २००७ मा पनि उनी राष्ट्रपतिको अभियानबाट बाहिरिएका थिए। 

यसपालि देशभित्र भएको दुई–चारवटा ठूलो घटनाका कारण उनले आफूमाथि लाग्ने गरेको आरोपलाई अन्यत्र मोड्न सफल भए। उनले अमेरिकी जनताको मुद्धालाई कुनै पनि बेला छोडेनन्। कोरोना भाइरस, प्रहरी ज्यादती, काला जातिका जर्ज फ्लोयडको निधन, अर्धव्यवस्थामा समस्या जस्ता मुद्धालाई उनले अन्तिम समयसम्म पकडिरहे।
 
ट्रम्पको ‘वाइट सुपरमेसी’ विरूद्ध उनले अभियान नै चलाए। उनले प्रचार अभियानलाई पनि धैर्य र सुझबुझका साथ चलाए। ट्रम्पले आफूविरूद्ध व्यक्तिगत लाञ्छना लगाएपनि उनी संयमित रहे। उनले खाली जनताको मुद्धामा मात्र ध्यान केन्द्रित गरे। 

ट्रम्प मान्य छैन 

चुनावको दिनभन्दा अघि वाइडेनले टेलिभिजन र विज्ञापनमा एउटा अभियान नै चलाए, जसमा भनिएको थियो–अमेरिकी चुनावमा अरु कसैले जितोस् तर ट्रम्पले जित्नु हुदैन। उनको यो रणनीतिले काम गरेको देखियो। टेलिभिजनमार्फत जनतासँग प्रत्यक्ष कुरा गर्ने अभियानको यो नेतृत्वमा वाइडेनको नोमिनेशनको भाषण पनि राखिएको थियो। जसमा उनले भनेका थिए, यो चुनाव अमेरिकाको आत्माको लडाईं हो। चार वर्षदेखि देशमा चलिरहेको अराजकता र अमेरिकी जनतालाई दुई भागमा बाँड्ने मुद्धालाई हामीले पराजित गर्ने पर्छ। 

सुन्दा सामान्य लागे पनि यो अभियानले अमेरिकी मतदातामा छुट्टै विचारको विजारोपण भएको थियो। वाइडेनले ट्रम्पमाथि आरोप लगाएका थिए कि उनी अमेरिकी जनतालाई उकास्ने र ध्रुवीकृत गर्ने अभियानमा छन्। 

सधैँ केन्द्रमा रहनु

डेमोक्रयाटिक उम्मेदवार बन्ने अभियानमा वाइडेनको प्रतिस्पर्धा बर्नी स्याडर्स र एलिजाबेथ वारेनसँग भएको थियो। संगठित रूपमा दुबैले अभियानको नेतृत्व गरिरहेका थिए। उनीहरूको कार्यक्रम कुनै रक–स्टारभन्दा कम थिएन। 

मानिस उत्तिकै संख्यामा उनीहरूको अभियानमा जोडिदै गएका थिए। वाइडेनको पृष्ठभूमि उदारवादी भएपनि उनी अन्य मुद्धामा फसेका थिए। जसमा सरकारले लागु गर्न लागेको हेल्थकेयर कार्यक्रम, फ्रि कलेज एजुकेशन र ट्याक्सको मुद्धा पनि समावेश थियो।
 
उपराष्ट्रपति पदका लागि कमला ह्यारिसलाई छनोट गर्नु वाइडेनको सटिक रणनीति थियो। उनले पार्टीभित्र ‘लेफ्ट विङ’ को वकालत गर्ने अर्को बलियो उम्मेदवारलाई पनि छनोट गर्न सक्थे। तर, उनले त्यसो गरेनन्। पर्यावरण र जलवायूको मुद्धामा उनी स्याण्डर्स र वारेनको नजिकै देखिए। 

चुनावी अभियानका लागि पैसाको जोहो 

यो वर्ष चुनावी अभियानको सुरुवात गर्दा वाइडेनसँग पैसा थिएन। यस्तो अवस्थामा उनले ट्रम्पसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। प्रचार अभियानमा उनी ट्रम्पको तुलनामा नोक्सानमा थिए। तर, अप्रिलपछि वाइडेनले यो परिस्थितिलाई उल्टाउन सफल भए। आर्थिक सहयोग बटुल्ने मामिलामा उनले ट्रम्पलाई पछाडि छोडे।

अक्टुबरको सुरुमा वाइडेनसँग ट्रम्पको तुलनामा १७ सय करोड रुपैयाँ बढी थियो। जसका कारण उनले प्रमुख राज्यमा चुनावको विज्ञापनका लागि मज्जाले पैसा खर्च गरे। जसको असर चुनावमा पनि देखियो। 

४ वर्षअघि हिलारी क्लिन्टनको चुनावी अभियानमा ट्रम्पभन्दा बढी पैसा थियो। यसपालि कारोनाका कारण अमेरिकी जनता प्रायः घरमै बसे। उनीहरूले मिडिया र टेलिभिजनमा बढी समय व्यतित गरेका थिए। वाइडेनले यसको फाइदा उठाउँदै मिडिया र टेलिभिजन विज्ञापनमा पैसा खर्चिए। उनले टेक्सास, जर्जिया, ओहियो र आयोवा जस्तो ठूलो राज्यमा धेरै पैसा खर्च गरे।

प्रकाशित मिति: : 2020-11-09 17:25:00

प्रतिकृया दिनुहोस्