चितवन र धरानमा थप तीन कोरोना संक्रमितको मृत्यु

चितवन र धरानमा थप तीन कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

भरतपुर अस्पतालमा उपचाररत चितवनको रत्ननगर नगरपालिका १३ का ८५ वर्षीय पुरुष र तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा ५ बस्ने ३३ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो।

कात्तिक ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका रत्ननगरका वृद्धलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई कात्तिक ५ गते एचडीयूमा राखेर उपचार गरिएको थियो।

यसैगरी ३३ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। खोकी र श्वासप्रश्वासको समस्या भएकी ती महिला ३७ हप्ताको गर्भवती थिइन्। 

उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

अस्पतालका स्वास्थ्यकर्मीले अथक प्रयास गर्दागर्दै पनि बचाउन नसकेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

यता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीको इनरुवा १ का ८३ वर्षीय पुरुषको आज बिहान २ः१० बजे मृत्यु भएको छ।

उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट, श्वासप्रश्वास लगायतका समस्याबाट पीडित ती पुरुषमा यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनलाई बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

उनमा देखिएका समस्याअनुसारको उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-22 12:43:00

प्रतिकृया दिनुहोस्