कोरोनाको कहरमा काँग्रेस नेताहरु यसरी मनाउँदैछन् दसैँ

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

लोकेन्द्र भट्ट

कोरोना महामारीका कारण यस वर्ष दसैँको रौनक हराएको छ । कोरोनाबाट बच्न र बचाउन भौतिक दुरीको विकल्प नभएपछि दसैँको रमझम परिवारका सदस्यका साथ घरको पर्खालभित्रै सीमित हुने भएको हो ।
नेपाली काँग्रेसका शीर्ष नेताहरुको दसैँ पनि त्योभन्दा भिन्न हुने छैन । काँग्रेसका शीर्ष नेताहरु परिवारका साथ सामान्य रुपले दसैँ मनाइरहेको बताउँछन् ।

पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारीलाई मध्यनजर गर्दै यस पटक परिवारका साथमात्र दसैं मनाएको उनको निजी सचिवालयले जनाएको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले विगतमा पार्टीका नेता–कार्यकर्तालाई निवासमा बोलाउने र आफू पनि मान्यजनकहाँ गएर दसैँको टीका लगाउने गरे पनि यस पटक त्यस्तो कार्यक्रम बनाइएको छैन । आम नागरिकलाई पनि सजग र सचेत भएर दसैँ–तिहार मनाउन देउवाको सचिवालयले सुझाएको छ ।

यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैलाई आशिर्वाद दिएको र सबैबाट आशिर्वाद पाएको कल्पना गरेरै दसैँ मनाउने बताए । ‘अहिले धेरै चहलपहल गर्न सकिने अवस्था छैन । आवत–जावत, घुलमिल र भेटघाटलाई कम गरौँ भन्ने छ । त्यसैले यस पटक दसैँ घरमै सीमित भएको छ,’ रातोपाटीसँग उनले भने ।

प्रकाशित मिति: : 2020-10-24 20:27:00

प्रतिकृया दिनुहोस्