कोरोनाकालमा नेपाल विश्वको दोस्रो प्रदूषित देश

संजोग आचार्य

न्यूयाेर्क

नेपाल सरकारले विकास र अन्य कुरामा सुधार हुने दावी गरेपनि कोरोना महामारीका बीच नेपाल विश्वकै दोस्रो प्रदूषित देश भएको छ। अमेरिकी ‘थिंक ट्याक’ को एउटा रिपोर्ट ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ ले भारतपछि नेपाल विश्वकै दोस्रो प्रदूषित देश भएको उल्लेख गरेको छ। 

हालै सार्वजनिक रिपोर्ट अनुसार पीएम २.५ (प्रति एक घनमिटर हावामा २.५ माइक्रोन्सभन्दा सानो आकारको कण) को प्रतिशत नेपालमा ८३ दशमलव १ प्रतिशत पुगेको छ। भारतमा पीएम २.५ को प्रतिसत ८३ दशमलव २ छ। 

गत वर्ष नेपाल विश्वको आठौं सबैभन्दा प्रदूषित देश थियो। यतिबेला भारत तेस्रो स्थानमा थियो। जनघनत्वको हिसाबले भारतसँग तुलना नै नहुने नेपालको प्रदूषणको अवस्था बिकराल बनेपछि अन्तर्राष्ट्रिय विश्लेषकहरूले पनि चिन्ता व्यक्त गरेका छन्। 

गत वर्ष नेपालमा पीएम २.५ को अवस्था ५४ दशमलव १५ प्रतिशत थियो। ‘लकडाउन’ का कारण गत मार्चमा प्रदूषणको अवस्था घटेर ४४ दशमलव ४८ प्रतिशत पुगेको थियो। तर, पछिल्लो सात महिनामा प्रदूषणको मात्रा ह्वात्त बढेको हो। 

बायु प्रदूषण अहिले विश्वको चौथो ठूलो समस्या बनिसकेको छ। एक अध्ययन अनुसार विशालु हावाका कारण विश्वमा करिब पाँच लाख बालबालिकाको प्रत्येक वर्ष हुने गरेको छ। गत वर्ष मात्र वायु प्रदूषणका कारण विश्वमा ६६ लाख ७ हजार मानिसले ज्यान गुमाएका थिए। 

नेपालमा पनि वायु प्रदूषणका कारण प्रत्येक वर्ष ३५ हजारको हाराहारीमा मानिसहरूको निधन हुने गरेको छ। नेपालमा १० मध्ये १ जनालाई स्वासप्रस्वासको समस्या छ भने बढ्दो पीएम २.५ ले नवजात शिशुको बाच्ने आयु दुई वर्षले कम हुँदै गइरहेको छ। 

‘स्टेट अफ ग्लोबल एयर–२०२०’ को रिपोर्ट अनुसार उच्च रक्तचाप, धुम्रपान, अन्य खानपीन सम्बन्धि समस्याका कारणपछि वायु प्रदूषणका कारण सबैभन्दा बढी मानिसको ज्यान जाने गरेको छ।
 
उच्च रक्तचापबाट हाल १ करोड ८ लाख, धुम्रपानबाट ८७ लाख १ हजार र खानपीनका अन्य रोगबाट ७९ लाख ४ हजार मानिसको वार्षिक निधन हुने गरेको छ। 

वायु प्रदूषणले मानिसको फोक्समा सिधै असर पार्ने कारण यसले धेरै समस्या निम्त्याउने अध्ययनको रिपोर्टमा उल्लेख छ। यसले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, मधुमेह, मुटु रोगी, लोअर रेस्पिरेटरी इन्फेक्सन जस्ता रोगीको निधनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। 

गत वर्ष शीर्षस्थानमा रहेको बंगलादेश नयाँ रिपोर्टमा नवौं स्थानमा पुगेको छ। पाकिस्तान विश्वको दसौं वायु प्रदूषित देशको सूचीमा समावेश छ।

प्रकाशित मिति: : 2020-10-24 21:36:00

प्रतिकृया दिनुहोस्