घरेलु मैदानमा रियलसँग बार्सिलाेनाकाे लज्जास्पद हार

स्पेनिस च्याम्पियन रियल मड्रिडले ला लिगा बार्सिलोनालाई पराजित गरेकाे छ। 

शनिबार क्याम्प नोउमा भएको खेलमा रियल ३-१ ले विजयी भएको हो।

रियलले खेलको पाँचौ मिनेटमा नै युवा मिडफिल्डर फेडे भालभेर्डेकाे गाेलमार्फत अग्रता लिएको थियो।

तर आठौं मिनेटमा अन्सु फातीले खेल बराबर गरे। त्यसपछि दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।

खेलको ६२औँ मिनेटमा रियलले पुन: अग्रता लियो। रियलका कप्तान सर्जियो रामोसलाई बार्सिलोनाका क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र जर्सी तान्दै लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै पेनाल्टी दिए। उक्त अवसर रामोसले सदुपयाेग गरे।

९०औँ लुका मोड्रीचले सहजै गोल गर्दै ३-१ काेजित दिलाए।

यस जितसँगै रियल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। रियलको ६ खेलमा १३ अंक छ।

 बार्सिलोना भने ५ खेलमा ७ अंक जोड्दै लिग तालिकाको दशौं स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2020-10-24 22:31:00

प्रतिकृया दिनुहोस्