किन गरियो सानो नक्सा बनाएर 'ट्रायल बलुन' ?

भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई वालुवाटारमा भेटेलगतै नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको प्रयोग गरेको निशाना छापबाट एकाएक कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा गायव भयो।
 
जो कोहीले पनि पहिला त सामान्य आँखाले नै हेर्ने हो। सामान्य आँखाले हेर्दा जो कोहीले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा गायब भएकै देखे। जब यस्तो देखियो, समाचार बन्ने नै भयो । समाचार बनेपछि क्रिया प्रतिक्रियाको क्रम पनि चल्ने नै भयो, चल्यो।
 
जब यो क्रम चल्यो तब बालुवाटारमा हलचल मच्चियो । अनि किचेन क्याविनेटका मानिस जुम लिएर नक्साको नापजाप गर्न थाले। त्यसपछि उनीहरूले भनेे, 'जुम गरेर हेर, चुच्चे नक्सा देख्छौ, सानो बनाउँदा त्यस्तो भयो।' 
 
आमसञ्चारमा एउटा शव्दावली खुब प्रयोग हुन्छ, ट्रायल बलुन। यसको अर्थ हो कुनै विवादास्पद विषयमा नियोजित रूपमा समाचार बाहिर ल्याउनु। यदि त्यसले सकारात्मक परिणाम दियो भने चुप लागेर त्यसैलाई सही स्थापित गर्नु ,दिएन भने यसो गर्न खोजेको या यसो भएको भनेर स्पष्टिकरण दिनु। 
 
बालुवाटार किचेन क्याविनेटले पनि यो नक्सालाई लिएर ट्रायल बलुन गरेको हुन सक्छ। चुच्चो नदेखिने गरेर निशाना छाप बनाउने र सार्वजनिक गर्ने, नेपाली जनताले चुप लागेर सहे भने त्यसैलाई स्थापित गर्ने, विरोध भयो भने जुम लिएर नापजाप गर्ने। अहिले विरोध भएकाले उनीहरू नापजापमा उत्रनु परेको हो। आमसञ्चारको भाषामा उनीहरूको ट्रायल बलुन फुट्यो। अर्थात् उनीहरू आफ्नो मिडिया ट्रायलमा असफल भए।
 
आखिर किन आम नेपाली बालुवाटारको ट्रायल बलुन फुटाउने गरी जागे त ? जसले गर्ला बालुवाटार किचेन क्याविनेटका सदस्यहरू प्रधानमन्त्रीले दशै शुभकामना सन्देशमा प्रयोग गरेको निशानाछापमा जुम गर्न बाध्य भए।  यो विश्लेषणको विषय हुन सक्छ। सेकेण्ड ओपनियन नै सही, त्यसको एक कोणका लागि यस्तो विश्लेषण गर्न सकिन्छ।
 
समाचारको एक अंग मानिन्छ, सन्दर्भ। यो स्कालर हैन, भेक्टर हुन्छ। अर्थात् यसका दुई आयाम हुन्छन्, समय र स्थान। समयको कुरा गर्दा, यो नक्सा त्यतिबेला आयो जतिबेला भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई सुपरल्याण्डिङ गराइएको थियो। अनि, स्थानको कुरा गर्दा यो प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारबाट आयो, जहाँ रअ प्रमुखको 'शिष्टाचार भेट'का लागि रेडकार्पेट ओछ्याइएको थियो। 
 
नेपालीमा एउटा उखान छ, बाघ कराउनु र बाख्रा हराउनु सँगै हुँदा त्यसमा दुई सम्भावना हुन्छन्, पहिलो यो संजोग मात्र पनि हुन सक्छ,  दोस्रो यो नियोजित रूपमा भएको पनि हुन् सक्छ। बहुसंख्यक नेपाली मिडिया र आमजनता यसलाई संजोगभन्दा पनि बढी नियोजित नै मान्छन्। किनकि, केही समयअघि मात्र प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेेटिएको नेपालको नयाँ नक्सा भएको पाठ्यपुस्तक वितरणमा रोक लगाएर राष्ट्रभक्तिको बाटोमा यु-टर्न गरेका थिए। त्यसको केही समयपछि रअका मुखियालाई बालुवाटारमै अवतरण गराएर उनले रातारात अपारदर्शी भेटवार्ता गरे। अब केही दिनपछि नै भारतीय स्थल सेनाध्यक्षलाई काठमाडौंमा अवतरण गराएर सम्मान गर्दैछन्। 
 
प्रस्तुत पृष्ठभूमिमा यो सबै भएकाले नेपाली जनताले ओलीलाई शंकाको सुविधा दिएनन्। जनताकै विचार मिडियामा प्रतिविम्वित हुने भएकाले मिडिया पनि उनको ट्रायल बलुनमा उपयोग भएनन्। 
 
आमसञ्चारमा एउटा बहुचर्चित भनाइ छ, भर्जिनिटी र क्रेडिबिलिटी उस्तै हुन्, दुबै एकपटक फुट्छन्। ओलीको क्रेडिबिलिटीको भाडो पनि बिस्तारै फुट्दैछ। उनले हुँदा हुँदा यतिसम्म गर्न भ्याएका छन् कि केही दिनअघि क्याविनेटबाटै मन्त्रीहरूलाई दशै खर्च दिने निर्णय गराए। जनआक्रोश बढेपछि पुरानै मितिमा नदिने निर्णय गरेको लेखाएर देश र देशवासीलाई ढाँट्ने काम गरे। यो एक किसिमको किर्ते काम थियो। तर,ओलीका नया कुर्माने बैरागीले त्यस्तै लिखत बनाए। आखिर उनी त्यहाँ अनेक तिकडम गरेर त्यसैका लागि पुर्याइएका कुर्माने न थिए।
 
ल ठीक छ रे, नक्सा सानो बनाउँदा कालापानी, लिपुलेक र लिम्पियाधुरा देखिएन रे। यो त बनाउनेहरूलाई थाहा हुनुपर्ने हो नि, हैन र? सार्वजनिक गर्नुपहिले जनताका आँखाबाट आज जस्तो देखियो, उनीहरूको आँखाले पनि त्यस्तै र त्यत्रै देख्यो होला। उनीहरूका आँखामा अतिरिक्त जुम गरेर हेर्ने विशिष्ट क्षमता त थिएन होला? जब यो सबै अवस्था विद्यमान थियो भने यति संवेदनशील विषयमा किन गरियो 'ट्रायल बलुन' ?
 
यो सामान्य 'ट्रायल बलुन' हैन। देशको सिमाना नै गलत देखाउने साइजमा नक्सा प्रयोग गर्नु एक किसिमको राष्ट्रद्रोही ट्रायल बलुन हो। यस किसिमको ट्रायल बलुन गर्ने छुट कसैलाई पनि हुनु हुदैन। त्यसमा पनि देशको कार्यकारी प्रमुखलाई नै झनै हुने कुरै भएन।
 
आखिर किन भयो होला त यस्तो ट्रायल बलुन? अनुमान एक हैन, अनेक हुन सक्छन्। अनुमान जे जसरी गरे पनि यसको मूलकारण पत्ता लगाउन ओलीको भारतसँगको सम्बन्धका पहेलीहरू केलाउनैपर्ने हुन्छ। धेरैलाई भ्रम छ, ओली भारतविरोधी राष्ट्रवादी नेता हुन्। उनको यो छवि भारतले नै बनाइदिएको एक मायावी छवि हो। 
 
ओली मूलत: भारतीय उत्पादन हुन्। उनी सुरूदेखि नै भारतीय गुडबुकमा छन् र आज उनी जुन अवतारमा प्रस्तुत भएका छन् त्यो सबै भारतीय स्क्रिप्टको कमाल हो। उनको भारतविरोधी राष्ट्रवाद भारतीय राजनीतिक वृतभन्दा पनि खुफिया एजेन्सी रअको तहमा तयार गरिएको विम्व हो। पत्रकार सुधीर शर्माले उनको पुस्तक प्रयोगशालामा यसको राम्ररी खुलासा गरेका छन्। र, त्यसको खण्डन अहिलेसम्म ओली र उनका अनुचरहरूले गर्न सकेका छैनन्। त्यसको साक्षीका रूपमा शर्माले अर्का पत्रकार विजयकुमारलाई उभ्याएकाले पनि उनीहरूले खण्डन गर्न नसकेका हुन्।
 
तथ्यहरूले नै भन्छन् कि ओलीलाई नेपालमा सत्तारोहण गराउन भारतले तीन चरणमा सहयोग गरेको छ। पहिलो, मदन भण्डारी फाउण्डेसनलाई भारतीय पैसा खन्याएर तत्कालिन एमाले संस्थापन पक्षको समानान्तर संस्थाका रूपमा ओली गुटलाई पालनपोषण गर्न गाउँपालिकासम्मै विस्तार गरिएको छ। ओलीले आधारभूत रूपमा यही संरचनामार्फत् आजको शक्ति आर्जन गरेका हुन्। दोस्रो, ओलीलाई नेपालमा सत्तारोहण गराउने प्रयोजनको लागि भारतले नै तथाकथित नाकाबन्दी लगाएको हो। यसो गर्दा उनको भारतविरोधी राष्ट्रवादी छवि बन्यो र त्यसले नेपालमा कोरामिनको काम गर्यो। तेस्रो, भारतकै योजनामा थप शक्तिसञ्चयका लागि नेकपा एमाले र माओवादीको चुनावी गठजोड र पार्टी एकता गरिएको हो। अन्तत: यही एकताले विद्यादेवीलाई राष्ट्रपति र ओलीलाई प्रधानमन्त्री बनाउन सक्यो। 
 
यी सबै भएपछि दासढुंगा हत्याकाण्डको गुन या रिनको एक किसिमको छिनोफानो भएको छ। अहिले संकेतकै रूपमा भनौ, रअको स्कृप्टमा धेरै उतारचढाव आए पनि अन्तत: उसले यो कथालाई यही रूपमा बिट मार्यो। हैन भने, ओलीलाई एउटा प्रश्न सोध्न सकिन्छ, उनले भनेका थिए, 'एमालेको सरकार बनेको एक महिनामा मदन भण्डारीको हत्यारा जेलमा हुने छ। पटक पटक एमाले सरकार बन्यो, ओली नै दुई दुईपटक प्रधानमन्त्री भैसके के ले रोक्यो? अल्पमतको हैन, प्रचण्ड बहुमतकै प्रधानमन्त्री भैसके ओली। त्यति मात्र हैन, मदनपत्नी विद्या भण्डारी दुई दुईपटक राष्ट्रपति भैसकिन् ? किन पुर्याइदैन हत्यारालाई जेल ?
 
प्रश्न सोध्नुपर्ने हैन र? तर, कस्ले सोध्ने प्रश्न, प्रचण्डलाई बुहारी जोगाउनु छ। माधव नेपाललाई होली वाइनमा रमाउनु छ, झलनाथलाई सर्प पाल्नु छ। वामदेवलाई ओली टाट्नामा बेला न कुबेला धाँस खानै ठीक्क छ। दोस्रो पुस्ताका नेता भनाउँदालाई यो वा त्यो नाममा कमाउनु छ। ओलीभक्तहरूको त के कुरा गर्नु र ? उनीहरूलाई ओलीभाङ लागिसकेको छ।  यो ओलीभाङले सबैभन्दा बढी गिदीलाई लिदी बनाउँदोरहेछ। 
 
उता नेपालकालाई ओलीभाङ लागेकै छ। यता अमेरिकामा रहेका ओलीभक्त पनि नराम्ररी लट्ठिएका छन्। जन्मेको देश छोडेर, नेपाली नागरिकता त्यागेर अमेरिकी भैसके पनि के का लागि गिदीलाई लिदी बनाइरहेका हुन्? यो आफैंमा ताजुबलाग्ने विषय लाग्छ। उनीहरू आफ्नो टाउको ओली राष्ट्रवादको कुरीकुरी बचाउने टालोमा परिणत गरिरहेका छन्। त्यो देख्दा यस्तो लाग्छ, दासता भनेको मासिकता रहेछ, त्यसलाई समयको पदचाप र भूगोलको सन्निकटताले पनि खासै फरक नपार्दो रहेछ।
 
बाँकि उनीहरू नै जानुन् ।
प्रकाशित मिति: : 2020-10-24 23:39:00

प्रतिकृया दिनुहोस्