स्टोक्सको शतकमा राजस्थानकाे ८ विकेटकाे जित, चेन्नई ‘प्ले अफ’मा नपुगी बाहिरियो

राजस्थान रोयल्सले युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा  राजस्थानले शीर्षस्थानमा रहेको मुम्बईलाई ८ विकेटले पराजित गरेकाे हाे।

याेसँगै ‘प्ले अफ’मा पुग्ने राजस्थानकाे सम्भावना जिवितै रहेकाे छ। 

जितका लागि १ सय ९६ रनको बलियो लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍याे। राजस्थानको जितमा स्टोक्सले स्टोक्स ६० बलमा १४ चौका र ३ छक्का सहित १ सय ७ रनमा अविजित रहे। 

सन्जु स्यामसन ३१ बलमा ४ चौका र ३ छक्का सहित ५४ रनमा अविजित रहे। तेस्रो विकेटका लागि स्यामसन र स्टोक्सले १ सय ५२ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि मुम्बई निरिह बनेकाे थियाे।

ओपनर रोबिन उथप्पा १३ रनमा क्याच आउट भएका थिए। स्टिभ स्मिथ ११ रनमा बोल्ड आउट भएका थिए। मुम्बईका जेम्श प्याटिनसनले २ विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १ सय ९५ रन बनाएको थियो। 

मुम्बईका हार्दिक पान्ड्या २१ बलमा २ चौका र ७ छक्का सहित ६० रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन्। 

सूर्यकुमार यादव र ईशान किशनले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।  ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरेका ईशान ३७ रनमा क्याच आउट भए। 

सूर्यकुमार यादवलाई ४० रनमा क्याच आउट भए। यादवले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सौरभ तिवारी ३४ रनमा क्याच आउट भए। तिवारीले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

कप्तान काइरन पोलार्ड ६ रनमा बोल्ड आउट भए। क्विन्टन डी कक पनि ६ रनमा बोल्ड आउट भए। 

जोफ्रा आर्चरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए। श्रेयस गोपालले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए। कार्तिक त्यागिले एक विकेट लिए। 

यो जितसँगै राजस्थानको ‘प्ले अफ’ सम्भावना कायमै रहेको छ। 

चेन्नई बाहिरियो

साविक उपविजेता चेन्नई सुपर किंग्स आइपीएलबाट बाहिरिएको छ। राजस्थानले शीर्ष स्थानको मुम्बईलाई पराजित गरेपछि चेन्नई आइपीएलबाट बाहिरिएको हो।

मुम्बईलाई राजस्थानले हराएसँगै चेन्नईको ‘प्ले अफ’ आशा समाप्त भएको हो। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई पुछारमा रहेको छ। चेन्नईले १२ खेलमा मात्र ८ अंक जोडेको छ।
 
चेन्नईले लिगको बाँकी खेल जितेपनि ‘प्ले अफ’ पुग्ने छैन। चेन्नईले अब दुई खेल खेल्न बाँकी रहेको छ। तीन पटकको च्याम्पियन चेन्नई आइपीएल इतिहासमा पहिलोपटक ‘प्ले अफ’ पुग्न असफल भएको हो।

यद्यपी हिजाे नै सम्पन्न खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको थियाे। जितका लागि १ सय ४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियाे। 

मुम्बई ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ। दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ। दिल्लीले ११ खेलमा ७ मा जित र ४ मा हार व्यहाेरेकाे छ।

यता बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित तेस्रो स्थानमा छ। ११ खेलमा ६ मा जित र ५ मा हारसहित कोलकाता चौथो स्थानमा छ।

पन्जाब ११ खेलमा ६ मा हार र ५ मा जित सहित १० अंक जोड्दै पाँचौ स्थानमा छ।  १२ खेलमा ७ मा हार र ५ मा जितसहित राजस्थान छैटौं स्थानमा छ। 

सनराइजर्स हैदराबाद ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ। १२ खेलमा ८ मा हार र ४ मा जितसहित चेन्नई पुछारमा रहेको छ।

 

प्रकाशित मिति: : 2020-10-26 06:14:00

प्रतिकृया दिनुहोस्