निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाट किन पछि हट्यो जुरिच, अब कसरी बन्छ विमानस्थल?

नेपाल लाइभ

काठमाडौँ
सांकेतिक तस्बिर

उत्तम काप्री

 निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानी बोर्डले प्रारम्भिक रूपमा छनौट गरेको जुरिच एयरपोर्ट इन्टरनेसनल कम्पनी निर्माण प्रक्रियाबाट पछि हटेको छ। सरकारले तोकेको समयसीमाभित्र विस्तृत आर्थिक प्रस्ताव पेस नगरेपछि विमानस्थल निर्माण प्रक्रियाबाट जुरिचपछि हटेको हो।

विमानस्थल निर्माणका लागि जुरिचसँग लगानी बोर्डले सेप्टेम्बर ३० सम्मको समय दिएर विस्तृत प्रस्ताव माग गरेको थियो। तर, जुरिचले २३ सेप्टेम्बरमा नै मेलमार्फत कोरोनाका कारण एभिएसन क्षेत्रमा ठूलो असर परेको र आफूहरुले नेपालले तोकको समयमा केही प्रस्ताव पेस गर्न नसकेको जानकारी गराएको लगानी बोर्ड कार्यालयका प्रवक्ता धर्मेन्द्र मिश्रले नेपाल लाइभसँग बताए।

‘विमानस्थल निर्माणका लागि लगानी बोर्डले निर्णय गर्दै गत मार्चमा विस्तृत आर्थिक प्रस्ताव माग गरेको थियो’, उनले भने, ‘सरकारले अप्रिल १८ सम्मको समय दिए पनि कोरोनाका कारण लम्ब्याएर सेप्टेम्बर ३० सम्म पुर्‍याएको थियो। तर, उक्त समयमा पनि जुरिचले प्रस्ताव गरेन।’

निजगढ विमानस्थलको निर्माणको अब कसरी अगाडि बढ्छ त भन्ने प्रश्नमा मिश्रले बोर्ड बैठकले गर्ने निर्णयअनुसार काम अगाडि बढाउने बताए। बोर्डको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहने व्यवस्था छ।

विमानस्थल निर्माणका लागि सेप्टेम्बर ३० को समयसीमा सकिएपछि अझै पनि समय थप गर्ने पक्षमा सरकार छैन। केही समयअगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले पनि समय नथप्ने भन्दै बोर्डको कार्यालयमा आग्रह गरेका थिए।

प्रकाशित मिति: : 2020-10-27 19:48:00

प्रतिकृया दिनुहोस्