सरकारले सुस्ताका पुजारीकाे हत्यारालाई उन्मुक्ति दिन खोज्याे: विश्व हिन्दु युवा संघ

विश्व हिन्दु युवा संघले सरकारले नवलपरासी पश्चिमस्थित सुस्ता गाउँपालिका ४ नर्सही उचम टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारी महगु केवटको हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएको छ। 

मंगलबार संघका प्रवक्ता अनुराग शाहले एक विज्ञप्ति जारी गर्दै बर्तमान सरकारले हत्यारालाई कारवाही गर्न आनाकानी गरेको आरोप लगाएका हुन।

‘सब कुरा त्यागेर मन्दिरलाई जिवन अर्पण गरेका पुजारी तथा सन्त महन्तहरुको यसरी शृङ्खलाबद्ध रुपमा हत्या हुनुले हाम्रो नेपाली समाज कता तिर जाँदैछ भन्ने प्रश्न खडा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हत्यारालाई कारवाही गर्न नसके संघले हत्यारालाई खोजेर कारवाही गर्छ।’

७५ वर्षीय पुजारीको आइतबार धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो।

उनको शव मन्दिरदेखि लगभग दुई किलोमिटर पश्चिम दिशामा रहेको एकान्त खाली ठाउँमा फेला परेका थियो।

सरकारले अराजक गतिविधि गर्नेहरूलाई उन्मुक्ति दिएकै कारण देशभर भएका शक्ति पिठ तथा मन्दिरका सन्तमहन्त असुरक्षित भएको महसुस आफूहरुले गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

केही महिना अघि रौतहटमा एक हनुमान मन्दिरका पुजारीको हत्या भएको थियो। सो हत्याको हत्याराले फरार रहेकै बेला नवलपरासीमा अर्का पुजारीको हत्या भएको हो।

पुजारीको के कारण हत्या भएको र हत्याराको पछाडीको कस्को संलग्नता रहेको छ भन्ने अझै पत्ता लाग्न सकेको छैन। हत्याराको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-10-27 21:52:00

प्रतिकृया दिनुहोस्