भत्ता नपाउँदा वृद्धवृद्धाको दसैं बन्यो ‘खल्लो’

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

सरकारले दिने वृद्धभत्ता आएपछि दसैं मनाउने भन्दै ढुक्क भएर बसेकी थिइन्, धादिङ ज्वालामुखी गाउँपालिकाकी ७७ वर्षीय नानीमाया गुरुङ । आयआर्जनको अरु केही स्रोत नभएको उनले अघिल्ला वर्षमा समेत यही भत्ताबाट दसैंखर्च टार्दै आएकी थिइन् । 

गुरुङमात्रै नभएर सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) पाउने उमेर समूह र वर्गका नागरिकले पहिलो चौमासको भत्तालाई दसैंखर्चका रुपमा हेर्ने गर्थे । त्यस्तो भत्ताकै भरमा दसैंमनाउनेहरु पनि धेरै थिए । तर यो वर्ष नानीमाया गुरुङजस्ता हजारौं नागरिकको दसैंखल्लो भएको छ । जिल्लाका अधिकांश स्थानीय तहले दसैंअघि त्यस्तो भत्ता वितरण गरेका छैनन् ।

किन दिइएन वृद्धभत्ता ? 
अनिवार्य रुपमा बैंक खातामार्फत् मात्रै वृद्धभत्ता दिनुपर्ने नियम, कोष तथा लेखा नियन्त्रण कार्यालयले रकम निकासा गर्न गरेको ढिलाइका कारण त्यस्तो भत्ता समयमै वितरण गर्न नसकिएको स्थानीय तहहरुले बताएका छन् । ज्वालामुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले वृद्धभत्ता दिने उमेर समूहको बारेमा संघीय सरकारले गरेको निर्णय र खाता नखोली बजेट निकासा नै नगर्ने व्यवस्थाका कारण वृद्धभत्ता वितरण गर्न नसकिएको बताए । 

‘सुरुमा हामीलाई अपांगता भएका व्यक्ति र एकल महिलालाई दिइने भत्ता रोक्नु भनेर परिपत्र आयो । फेरि पछि सबैलाई त्यस्तो भत्ता सबैलाई दिनु भन्ने परिपत्र आयो,’ लम्सालले भने, ‘यही अन्यौलताका कारण भत्ता वितरणमा ढिलाई भएको हो अब तिहारअघि सबैलाई दिइसक्छौं ।’

प्रकाशित मिति: : 2020-10-28 18:05:00

प्रतिकृया दिनुहोस्