बार्सिलोनासँग युभेन्टस पराजित

च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ। 

समूह जी अन्तर्गत भएको खेलमा पाहुना टोली बार्सिलोनाले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको हो।

खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो। 

युभेन्टसका फरवार्ड अल्भारो मोराटाले दुई पटक गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता दिएनन्। 

खेलको ८५ औं मिनेटमा युभेन्ट्स १० खेलाडीमा सिमित भयो। युभेन्ट्सका डिफेन्डर मरिह डेमीरालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडे।

खेलको अन्तिम मिनेटमा बार्सिलोनाले पेनाल्टी प्राप्त गर्यो। फेडेरिको बर्नाडेस्कीले अन्सु फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीमा कप्तान लिओनेल मेस्सीले गोल गर्दै जित सुनिश्चित गरे। 

यस जितसँगै बार्सिलोनाको २ खेलमा ६ अंक भएको छ। युभेन्ट्स भने २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ। 

प्रकाशित मिति: : 2020-10-29 06:27:00

प्रतिकृया दिनुहोस्