फ्रान्समा पुन: लकडाउन घाेषणा

फ्रान्समा कोरोनाको दोस्रो चरणको संक्रमण देखिन थालेपछि सरकारले डेढ महिना देशभरि लकडाउन घाेषणा गरेकाे छ।  

राष्ट्रपति इम्यानुएल म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शुक्रबारदेखि लागु हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन्।

फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरिएकाे हाे। यो पटकको लकडाउन कम्तीमा नोभेम्बरको अन्त्यसम्म कायम रहनेछ। 

राष्ट्रपति म्याक्रोंले भने, ‘कोरोना महामारीको दोस्रो लहर सुरु भएको छ, यो पहिलोभन्दा निकै खतरनाक हुनेमा शंका छैन।’

कोरोना महामारीको सुरुमा युरोपमा अति प्रभावित राष्ट्रमध्येकाे एक फ्रान्समा मार्चमा पहिलोपटक लकडाउनकाे घाेषणा गरिएकाे थियाे। त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो।

पछिल्लो समय महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्समा दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन्। यहाँ संक्रमितको संख्या ११ लाख नाघिसकेको छ।

हालसम्म ३५ हजार मानिसको निधन भइसकेको छ। फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या अप्रिल यताकै धेरै भएको छ। 

गत मार्चमा नियन्त्रणमा आएको यहाँको अवस्थाका कारण सरकारले सबै कुरा खुला गरेको थियो।

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सामाजिक दुरी र मास्क अनिवार्य गर्न चेतावनी दिँदै आएको थियो। अझ उसले तत्काल स्कुल नखोल्न र भीडभाड हुने स्थान बन्द गर्न आग्रह गरेको थियो।

यद्यपी डब्ल्यूएचओकाे चेतावनी नमान्दा काेराेनाकाे दाेस्राे लहर सुरु भएकाे हाे।

लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने स्थानीय अधिकारीहरुले बताएका छन्।

रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु खुला हुनेछन्।

फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ। लकडाउनको घोषणासँगै युरोपको वित्त बजारमा त्यसको प्रभाव देखिन थालेको छ।

यता जर्मनीले पनि आपतकालीन रुपमा लकडाउन लागु गर्ने भएको छ। तर त्यहाँको लकडाउन फ्रान्सको भन्दा खुकुलो हुनेछ।

प्रकाशित मिति: : 2020-10-29 07:14:00

प्रतिकृया दिनुहोस्