अलीम डार अम्पायरिङको अर्को कीर्तिमान बनाउने बाटोमा

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानका अम्पायर अलीम डार एकदिवसीयमा सबैभन्दा बढी अम्पायरिङ गर्ने नयाँ कीर्तिमानको नजिक छन्। 

जिम्बाबेविरूद्ध दोस्रो एकदिवसीयमा अम्पायरिङ गरेपछि उनी एकदिवसीयमा सबैभन्दा बढी अम्पायरिङ गर्ने अम्पायर बन्ने छन्। डारले हालसम्म २०९ एकदिवसीयमा अम्पायरिङ गरिसकेका छन्। उनी र रुडी कर्ट्जन अहिले बराबरीमा छन्। 

पाकिस्तान र जिम्बाबेबीच दोस्रो एकदिवसीय आइतबार हुदैछ। नयाँ कीर्तिमान बनाउने तयारीमा रहेका डारले भने, ‘जतिबेला मैले अम्पायरिङ सुरु गरे, सोचेको पनि थिइन, यो कीर्तिमान नजिक पुग्छु भनेर। मेरो लागि यो ठूलो उपलब्धी हो। म आफ्नो परिवारप्रति आभारी छु, जसले मलाई सहयोग गरे। म आइसीसी र पाकिस्तान क्रिकेट बोर्डको पनि आभारी छु।’

डारले सन् २००० देखि एकदिवसीयमा अम्पायरिङ गरिरहेका छन्। उनले टेस्टमा २००३ देखि अम्पायरिङ सुरु गरेका थिए। 

उनी २००२ मा आइसीसीको अन्तर्राष्ट्रिय प्यानलमा समावेश भएका थिए।

 २००९ देखि २०११ को बीच उनी लगातार तीन वर्ष आइसीसीको उत्कृष्ट अम्पायर घोषित भएका थिए। 

५२ वर्षीय डारले गत वर्ष स्टिभ बकनरले टेस्टमा सर्वाधिक अम्पायरिङ गरेको कीर्तिमानलाई भंग गरेका थिए। डारले १३२ टेस्टमा अम्पायरिङ गरेका थिए। 

उनी टि–२० मा अहसान रजापछि दोस्रो नम्बरमा सर्वाधिक अम्पायरिङ गर्ने सूचीमा छन्। उनले ४६ टि–२० मा अम्पायरिङ गरेका छन्। उनले तीनवटा फम्र्याटमा गरेर ३८७ अन्तर्राष्ट्रियमा अम्पायरिङ गरेका छन्।

प्रकाशित मिति: : 2020-11-01 09:38:00

प्रतिकृया दिनुहोस्